जहाज ‘डिले’, यात्रु हैरान, मासिक एक हजार उडान रद्द

२१ कात्तिक ७६, शुक्रबार

२२ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन् । यस्तै आन्तरिकतर्फ चालु ३५ वटा विमानस्थलमध्ये १० वटामा नियमित उडान हुन्छ । १० वटा वायुसेवा कम्पनीले आन्तरिक उडान अनुमति पाएका छन् ।

दैनिक अन्तर्राष्ट्रिय उडान ९० वटासम्म हुन्छ भने आन्तरिक उडान औसतमा तीन सय वटासम्म पुग्छ । यति व्यस्त विमानस्थलमा थोरै समस्या उत्पन्न हुनेबित्तिकै उडान डिले हुन्छ । त्यसको प्रत्यक्ष मार यात्रुले सहँदै आएका छन् ।

भदौ २७ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई नेपालगञ्जबाट काठमाडौं आउने क्रममा जहाज ढिला उड्यो । असोज २७ गते राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले उडान ढिलो भएको आक्रोशमा जनकपुर विमानस्थलस्थित बुद्ध एयरको चेक इन काउन्टर तोडफोड गरे। उनी काठमाडौं आउन लागेका थिए ।

कैलालीका शरद ओझा असोज १६ गते नेपालगन्जबाट यती एयरलाइन्सको जहाजमार्फत काठमाडौं आउँदा ६ घण्टा ढिलो भयो । दुई बजेको टिकट लिएका ओझाले बेलुकी ८ बजे जहाजमा उड्न पाए । चैत १९ गते वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान चार मिनेट ढिलो हुँदा उडान रद्द भयो। कर्मचारीले समयमै तयारी नगरेको र यात्रुलाई रातभर जहाजमै राखेको विषयमा सरकारी समितिले छानबिन गरी घटनामा संग्लन कर्मचारीलाई कारबाही सिफारिस गर्‍यो ।

कहिले धावनमार्ग मर्मत, कहिले प्राविधिक कारण त कहिले उडान व्यवस्थापन मिलाउने बहानामा दैनिक उडान ढिलो हुने गरेका छन् । पछिल्लो समय आन्तरिक वायुसेवाका उडान तोकिएभन्दा ढिलो हुने गरेको गुनासो यात्रुको छ । बिहान आधा घण्टा मात्रै ढिलो भयो भने त्यसको असर दिनैभर पर्छ ।

भीभीआईपीको उडान, मौसम गडबड, विमानस्थलमा एउटैमात्र धावनमार्ग हुँदा उडान व्यवस्थापन मिलाउन एयर ट्राफिक कार्यालयलाई कठिन हुन्छ । उडान बढी हुँदा होल्ड गरिरहनुपर्ने र पार्किङस्थल कम हुँदा पर्खनुपर्ने कारण पनि उडान ढिलो हुने त्रिभुवन विमानस्थल कार्यालयको भनाइ छ ।

‘दसैंपछिका शनिबार र आइतबार चिनियाँ राष्ट्रपतिको उडान व्यवस्थापन मिलाउन विमानस्थल कार्यालयलाई हम्मेहम्मे परेको थियो । जसका कारण तीन दिन २४ सै घण्टा विमानस्थल खुला गर्नुपर्‍यो’, विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भने । उनका अनुसार उडान व्यवस्थापन मिलाउन बाध्य भएर १८ घण्टाको उडानलाई २४ घण्टासम्म पुर्‍याइएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१२ मा नेपालमा सात आन्तरिक वायुसेवा कम्पनीका ३१ हजार उडान भएकामा १७ हजार उडान रद्द भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसबाट नकारात्मक सन्देश गएपछि अर्को वर्षदेखि प्रतिवेदनमा उडान रद्द उल्लेख नगरिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

प्राधिकरणका उडान अनुमति शाखाका अनुसार वायुसेवाले उडान अनुमति केन्द्रीय कार्यालयबाट वर्षको दुई पटक ६–६ महिनाका लागि लिने गरेका छन् । तर, उडान रद्दको जानकारी भने विमानस्थललाई मात्रै गराउँछन् । प्राधिकरणसमक्ष सो तथ्यांक आउँदैन ।

प्राधिकरणका अनुसार विगत दुई महिनामा मासिक औसत एक हजार उडान रद्द भएका छन् । यस्तो उडान ‘अफ सिजन’ को उडान तथ्यांक हो । वायुसेवा उडानको सिजन तथा मौसमले साथ नदिने समयमा संख्या बढ्ने अनुमान प्राधिकरणका अधिकारीले गरे ।

सन् २०१८ मा त्रिभुवन विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी एक लाख ३० हजार उडान भएका छन् । गत वर्ष ९५ हजार पाँच सय आन्तरिक र ३३ हजार नौ सय वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको थियो । सन् २०१९ मा यो संख्या १० प्रतिशत बढ्ने अनुमान छ ।

विमानस्थल कार्यालयका अनुसार हाल दैनिक ८० देखि ९० वटा अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि एउटै धावनमार्गका कारण प्रायः सबै उडानमा पालो कुर्नुपर्ने हुन्छ । एउटा जहाज उड्न ढिलो भयो भने त्यसको असर अर्को वायुसेवाको उडानमा पर्ने विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले बताए ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा नौ वटा र आन्तरिक उडानमा १७ वटा मात्रै पार्किङ छ । अन्तर्राष्ट्रियमा एक सय र आन्तरिकमा तीन सय वटा उडान व्यवस्थापन मिलाउनु पर्छ ।

अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै वायुसेवाका लागि सिजन हो । बिहानको समयमा मान्उटेन फ्लाइट र लुक्ला उडान उडान जुध्छ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले उडान व्यवस्थापन मिलाउन एक घण्टा लगाउनु सामान्य भइसकेको छ ।

उडान तालिका धेरै हुने तर व्यवस्थापन मिलाउने क्षमता नभएकाले जहाज उड्न ढिलो हुने गरेको छ । दिउँसो मात्रै उडान हुने विमानस्थललाई प्राथमिकता दिनुपर्ने हुँदा पनि उडान समय ढिलो हुने तिवारी बताउँछन् ।

वायुसेवा सञ्चालक संघका सदस्य एवम् सिम्रिक एयरका बजार निर्देशक प्रज्ज्वल थापाका अनुसार अक्टोबर र नोभेम्बरमा उडान तालिका अन्य मौसमको तुलनामा ५० प्रतिशतसम्म बढ्छ । यही बेला अन्तर्राष्ट्रिय उडान पनि बढ्ने भएकाले आधा घण्टादेखि एक घण्टासम्म जहाज ग्राउन्डमै होल्ड गनुपर्ने उनको भनाइ छ । अन्नपूर्ण पोष्टबाट

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top