काठमाडौं : जनकपुरधामको प्रमुख धार्मिकस्थल जानकी मन्दिरको प्रांगणमा सामुदायिक प्रहरी सेवा केन्द्र धनुषाद्वारा गरिएको सांस्कृतिक कार्यक्रममा अश्लील गीत एवं नृत्य प्रदर्शन गरिएपछि सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।
प्रशासनिक अधिकारी एवं राजनीतिकर्मी सहभागी रहेको सो कार्यक्रममा यस प्रकारको गीत नृत्य हुँदा पनि कसैले नरोकेकोमा उनीहरूको पनि आलोचना भइरहेको छ । समारोहमा जिल्ला समन्वय समितिका सभापति रामदेव वनरैत यादव, उपसभापति दीपक झा, प्रदेश प्रहरी कार्यालयक प्रमुख हरि बहादुर पाल, धनुषाका प्रमुख जिल्ला अधिकारी दीपकराज कणेल पनि सहभागि थिए ।
मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले अरुको बिहेमा डिजे बन्द गराउने प्रशासन आजभोलि जानकी मन्दिरको प्रांगणमै अर्धनग्न नृत्यांगनासँग लिपिस्टिक लगाउँदै छ भनी सामाजिक सञ्जालमा व्यंगात्मक टिप्पणी गरेका छन्।
युवा अभियन्ता दीपक ठाकुरले संस्कार बिगार्ने कार्य गरिएको आरोप लगाएका छन्। उनले जनकपुरधामलाई समाप्त पार्ने छुट कसैलाई नरहेकोसमेत बताए। अर्का युवा ओमविक्रम कुश्वाहाले फेरि गंगाजलबाट जानकी मन्दिरलाई शुद्ध पार्नुपर्छ भनी व्यंग्य गरेका छन्।, यो समाचार आजको राजधानी दैनिकमा छ।