विराटनगर,असोज ८
दसैंका लागि अग्रिम टिकट बुकिङ भोलि मंगलबारबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आज ललितपुरमा बसेको केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले भोलिबाट दसैं टिकट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
दसैंका लागि भोलिबाट अग्रिम बुकिङ खुला गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । सरकारले यातायातको भाडादर १० प्रतिशत बढाउने निर्णय गरेलगत्तै महासंघले दसैंको अग्रिम टिकट बुकिङले खुला गर्ने निर्णय गरेको हो ।
महासंघले दसैंमा राजधानी बाहिर जाने र आउने यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाउन अनुगमन, टिकट काउन्टर व्यवस्थापनलगायतका समिति पनि बनाएको छ ।
वरिष्ठ उपाध्यक्ष हरिशरण केसी संयोजक र महासचिव सरोज सिटौला सदस्य सचिव रहेको अनुगमन समितिले यात्रुहरुलाई व्यवस्थित ढंगले यात्रा गर्ने वातावरण बनाए/नबनाएको अनुगमन गर्ने पनि महासंघका अध्यक्ष कर्माचार्यले बताए ।
त्यसैगरी टिकट काउन्टर व्यवस्थापन समितिले टिकट वितरणको उचित व्यवस्था गर्नेछ ।