७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए ।
लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौंको हेम्स अस्पताल पठाइएको थियो । अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै विदेशी पर्यटकको मृत्यु भइसकेको बताए ।
प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।