१६ बैशाख, काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ ।
निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ ।
अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।
कोरोना सङ्क्रमणबाट बच्न बिनाकाम घर बाहिर ननिस्कन र अति आवश्यक काम परेर घरबाहिर निस्कनै पर्ने अवस्थामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न तथा प्रशासनको आदेशअनुसार गर्न सरकारले आग्रह गरेको छ ।
चितवन, रुपन्देही, कैलाली र पर्सामा पनि आजैदेखि निषेधाज्ञा लगाइएको छ ।
दाङ र पाल्पामा भोलिदेखि निषेधाज्ञा सुरु हुँदैछ भने बाँके, दाङ, कास्की र सुर्खेतमा यसअघिदेखि नै पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।
यसैगरी, बर्दिया, बाग्लुङ र कालीकोटमा सङ्क्रमण अवस्था हेरेर ठाउँ तोकेरै आंशिक निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद् बैठकले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।