नेपालको उत्तरी सीमा देखाउने १८५० को त्यो नक्सा

काठमाडाैँ: लामो समयसम्म नेपालले आफ्नो सबैभन्दा सुदूरपश्चिम भूभाग नक्सामा नराखेका कारण छिमेकीलाई त्यो अमूल्य भूभाग हडप्न सजिलो भएको हो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा सन् १८५० मै नेपाली पक्षबाट लिम्पियाधुरादेखिको भूभाग समेटिएको नक्सा बेलायतमा प्रकाशित भएको थियो।

भारतसँगै सम्पूर्ण नेपाल र तिब्बत प्रान्तको दक्षिणी भूभागसमेत समेटिने गरी बेलायतबाट प्रकाशित विभिन्न नक्सामा नेपालको पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको सम्पूर्ण उत्तरी भूभागको ठूलो हिस्सा नेपाली सीमाबाहिर पारिँदै आएको थियो। यो कुनै त्रुटि नभएर स्पष्ट रुपमा नियोजित भएको नेपाल सरकारलाई पूर्ण जानकारी थियो।

तसर्थ, जंगबहादुरको बेलायत भ्रमण निश्चित हुनुअघिदेखि लेफ्टिनेन्ट लालसिंह खत्रीको नेतृत्वमा उत्तरी सीमा नापी सर्वेक्षण गर्न पठाइयो। यो सर्वेक्षण र पुराना सर्वेक्षण समेटेर नेपालको उत्तर सीमा रेखांकन गरिएको नक्सा तयारी गरिएको थियो।

Advertisement

सन् १८५० अप्रिल ७ मा कलकत्ताको हुग्ली नदीस्थित बन्दरगाहबाट जंगबहादुर र उनको टोली बेलायततर्फ प्रस्थान ग-यो। भ्रमण दल २५ मेमा बेलायतको साउथाम्प्टन बन्दरगाह पुगेको थियो। त्यसको भोलिपल्ट राति नेपाली टोली साउथाम्प्टनबाट दुई घण्टा रेल चढी लन्डन पुग्यो। उक्त भ्रमण दलमा उत्तरी सीमांकनमा संलग्न लेफ्टिनेन्ट खत्री पनि सम्मिलित थिए। लन्डन पुगेको केही दिनभित्रै अंग्रेजी लेख्न र बोल्न निपूर्ण खत्री नक्सासम्बन्धी त्रुटि सच्याउने कार्यमा जुटे।

लन्डनस्थित इस्ट इन्डिया कम्पनीको मुख्य कार्यालय ‘इन्डिया हाउस’ मा विशाल लाइब्रेरी थियो। त्यहाँ खत्रीले एकपछि अर्को गरी भारतका नक्सा टेबलमा फैलाए। प्रतिष्ठित नक्सा कम्पनीहरुले सबैभन्दापछि निकालेका नक्सामा पनि नेपालको उत्तरी सीमामा त्यही त्रुटि कायम भएको उनले देखे। केही प्रतिष्ठित नक्सा कम्पनीले निकालेका नक्सामा कालीदेखि नजिकका भूभाग नेपालमै पारिए पनि बाँकी उत्तरी भूभाग भने तिब्बततिर पारिएको थियो। कालीपारि कुमाउको आधिकारिक नक्सामा भने सन् १८१९ देखि नेपालको डोटीभन्दा माथिको भूभाग कुमाउ र तिब्बततिर पारिएको थियो।

Advertisement

भवितव्यले ‘रोयल जियोग्राफिक सोसाइटी’ को त्यस वर्षको समापन बैठक जुन १० मा हुँदै थियो। बेलायतका सबैभन्दा आधिकारिक भूगोलबेत्ताहरू सोसाइटीका सदस्य थिए। त्यसै दिन उनीहरु सामु खत्रीले तयार पारेको रिसर्च पेपर प्रस्तुत गरियो। पेपरको शीर्षक थियो– सम इन्फरमेसन अन दी नर्दन फ्रन्टियर अफ नेपाल (नेपालको उत्तरी सीमासम्बन्धी केही जानकारी)।, याे खबर नागरिक दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top