नेपाल–बङ्गलादेश व्यापार : आयात बढी निर्यात कम

८ साउन ७८, शनिबार

९ साउन, झापा ।
पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को तथ्याङ्कमा नेपालमा उत्पादित सामान रु ६७ करोड ३८ लाख ९१ हजारको निर्यात भएको देखिन्छ भने रु सात अर्ब १५ करोड ७२ लाख ३४ हजारको सामान आयात भएको देखिएको छ । मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्र विश्वकर्माले एक वर्षमा मात्र नेपाल–बङ्गलादेश व्यापार घाटा रु। छ अर्ब ४८ करोड ३३ लाख ४३ हजार भएको बताए । उनले प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बङ्गलादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको बताए ।

उहाँका अनुसार आव २०७६/०७७ मा रु ९५ करोड ४१ लाख ७५ हजारको सामान आयात हुँदा रु चार अर्ब ९५ करोड ३४ लाख ८६ हजारको नेपाली उत्पादन निर्यात भएको थियो । व्यापार घाटा रु तीन अर्ब ९९ करोड ९३ लाख ११ हजार भएको भन्सारको तथ्याङ्कले देखाएको छ । आव २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बङ्गलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको उनको भनाइ छ ।

Advertisement

नेपालबाट बङ्गलादेशमा दाल, अदुवा, चिराइतो, जडीबुटी, तिलको पिनालगायत निर्यात हुँदै आएको छ भने बङ्गलादेशबाट, जुट, आलु, प्लाष्टिकजन्य सामग्री, वासिङ मेशिन, औषधि, भटमासको दाना र पिना, मेशिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्युपेपरलगायत आयात हुने गरेको भन्सार प्रमुख विश्वकर्माले जानकारी दिए।

मेची भन्सार कार्यालय हुँदै भारतको पानीट्याङ्की–फूलबारीबाट बङ्गलादेशको बङ्गलाबन्धबाट व्यापार हुँदै आएको छ । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ । मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले नेपालका कृषिजन्य वस्तुमा बङ्गलादेशले बढी लगाएको करको विषयमा नेपाल सरकारले नै पहल गरेर घटाउनुपर्ने बताउँछन् ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top