२६ जेष्ठ, वीरगञ्ज ।
पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका ८ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्थायी विशेष कोभिड अस्पतालका को–ओर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
गत जेठ २३ गते क्वारेन्र्टीनमा रहेका ३४ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा पीसीआर परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको सिंहले बताए । संक्रमण पुष्टि भएका मध्ये एक जना २५ वर्षीया महिला पनि रहेकी छिन् ।
संक्रमितहरु भारतको हरियाणा, केरला, उत्तरप्रदेश लगायतका ठाउँबाट गत जेठ १४ गते फर्किएपछि उनीहरुलाई गाउँपालिकाको वडा नम्बर ६ सन्ठी टोलस्थित विद्यालयमा बनाइएको क्वारेन्टीनमा राखिएको थियो । संक्रमित सबै सन्ठी टोलकै स्थानीयबासी हुन् ।