१३ मंसिर, दैलेख ।
खानी तथा भूगर्भ विभागले दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको अन्वेषणको काम आगामी २०२१ को जनवरीबाट सुचारु गर्ने जनाएको छ ।
सास्मिक सर्भे मार्फत गरिएको अन्वेषणको अध्ययनको नतिजा चिनबाट आइनसककोले त्यसलाई कुरिरहेको विभागले जनाएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषणको लागि नेपाल र चीन सरकारबीच गरिएको सम्झौताको लक्ष्य अनुसार काम नभएकोले संशोधनको तयारी समेत गरेको विभागले जनाएको छ ।
२०१९ मा सम्झौता गरी २०२२ भित्रै आयोजनाको काम सम्पन्न गर्ने विभागको लक्ष्य थियो । २ वर्षसम्म सोचे अनुसारको काम नभएपछि सम्झौता संशोधन गर्ने तयारी थालिएको विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए ।
चिनियाँ प्राविधिक टोलीको सेस्मिक सर्भेको विश्लेषण र अन्वेषण रिपोर्टको आधारमा ड्रिलिङ गरिने छ । चिनियाँ टोलीसँग गरिएको ३ चरणको सम्झौता अनुसार पहिलो स्थलगत अध्ययनको नतिजा नै समयमा उपलव्ध नभएको डा. त्रिपाठीले बताए।
गत वर्षको फागुनको १५ गते पछि पहिलो चरणको काम सकेर चिनियाँ प्राविधिक टोली फर्किएको थियो । चिनियाँ टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।
नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।