विराटनगर, असार २५
१ नम्बर प्रदेश संसदमा अन्तर प्रदेश वासिन्दाको समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धी विधेयक पेश भएको छ । सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले सोमबार बसेको संसद बैठकमा उक्त विधेयक पेश गरेका हुन ।
अन्य मुलुक र अन्य प्रदेशबाट १ नम्बर प्रदेशमा आएका नागरिकहरुलाई हेर्ने नजर कस्तो हुने भन्ने विषयमा र के कस्ता सुविधा प्राप्त गर्ने भन्ने विषय उक्त विधेयकमा रहेको मन्त्री कार्कीले संसदमा जानकारी दिएका छन ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद बिमल कार्कीले अन्य देश र प्रदेशबाट बसोबास गर्न आउनेहरुका लागि नेपालको अल्पसंख्यक जाति र विशेषता अनुसारको भूगोल संरक्षित अवस्थामा रहने ग्यारेण्टी गर्नुपर्नेमा जोड दिए ।
कार्कीले विधेयक माथि दफावार छलफलका लागि विधायन समितिमा लैजान माग पनि गर्नुभयो । यस्तै सांसद राजकुमार ओझा र सांसद शान्तादेवी पौडेलले विधेयक उपर्युक्त समयमा आएको टिप्पणी गरेका छन ।
छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नेपालको संविधान र संघीय कानूनको मर्म अनुसार विधेयक ल्याइएको र प्रदेश नम्बर १ का लागि उपर्युक्त भएको बताए ।
संसदमा प्रस्तुत भएको उक्त विधेयकमा संशोधन दर्ताका लागि ७२ घण्टाको समय दिइएको छ । प्रदेशसभाको अर्को बैठक असार ३१ गते बस्ने छ ।