विराटनगर,माघ २२
विराटनगरमा विद्युतको पोल सार्नेक्रममा करेन्ट लागेर गम्भिर घाईते भएका मोहम्मद राहनलाई थप उपचारका लागि काठमाडौ लगिएको छ । सिम्रिक एयरको हेलिकप्टर मार्फत उनलाई थप उपचारका लागि काठमाडौ स्थित ग्राण्डी अस्पताल लगिएको हो ।
विराट नसिङ्ग होममा उपचाररत राहनको स्वास्थ्य अबस्था गम्भिर भएपछि मंगलबार अपरान्ह ठेकेदार कम्पनीले हेलिकप्टर मार्फत उनलाई काठमाडौ लगेको अस्पतालका प्रतिनिधि सुनिल पोख्रेलले जानकारी दिए ।
विराटनगर ४ का राहनलाई लिन ग्राण्डी अस्पतालका डाक्टरसहितको टिम विराटनगर आएको थियो । सोमबार मध्यान्ह विराटनगर महानगरपालिकास्थित भृकुटीचोकमा विजुलीको पोल सार्ने क्रममा उनीसहित तीन मजदुर करेन्ट लागेर घाइते भएका थिए । पोल सार्ने क्रममा करेन्ट लाग्दा राहनसहित संजिव पासवान र मुकेश पासवान घाइते थिए। घाइते मध्ये राहनको अवस्था गम्भिर रहेको थियो ।
संजिव र मुकेशको भने विराट नर्सिङ होममा उपचार भईरहेको छ । मजदुरहरुले बिद्युत प्राधिकरणको गल्तीका कारण घटना भएको बताउदै आएका छन तर प्राधिकरणले आफ्नो गल्ती नभएको दाबी गरेको छ । निर्माणको जिम्मा लिएको कृष्ण बोहराको भूमि कन्ष्ट्रक्सनले मजदुरका लागि सामान्य सुरक्षा ब्यवस्था नगर्दा घटना हुन गएको बिद्युत प्राधिकरणले जनाएको छ ।
नेपाल बिद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिबकुमार सिंहले भुमी कन्ष्ट्रक्सनले मागेको एउटा भृकुटी फिडरको लाईन काटिएको थियो । त्योसहित अन्य ४वटा फिडरको पनि लाईन काटिएको उनले जानकारी दिए ।
भूमि क्षेत्रमापनि कन्ष्ट्रक्सनले कामको जिम्मा लिएको थियो । भृकुटी फिडरकोलागि मात्र बिद्युत कटौती गर्न बिराटनगर गेटदेखि पाञ्चालीसम्मको बिद्युत कटौती भएको थियो । तर त्यो बाहेकको अर्कै फिडरलाई चलाउनु यस्तो घटना हुन पुगेको प्रमुख सिंहले बताए ।