४ कात्तिक, धनगढी।
शनिबारदेखि बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव भेटिएकाे छ । उनकाे शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको हाे ।
प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा मोहना नदीमै जवान साउदको शव भेटिएको हो । साउँदलाई हत्या गरी शव मोहना नदीभित्र बालुवाभित्र गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए ।
तस्करहरुप्रति आक्रामक स्वभावका असई विक र जवान रामबबहादुर साउद शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला बेपत्ता भएका थिए । विकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्कविहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ । घटना भएकै दिनदेखि खोजी कार्यमा शसस्त्र प्रहरीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।