१९ बैशाख, काठमाडौं । भक्तपुरमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि स्थानीय तहहरूले गत साल बनाएका आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याउन थालेका छन्।
जिल्लाको मध्यपुर थिमि, चाँगुनारायण र भक्तपुर नगरपालिकाले आइसोलेसन केन्द्रपुनः सञ्चालनमा ल्याइसकेका छन्। मध्यपुर थिमि नगरपालिकाले वडा नं. ९ बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।
त्यस्तै, १४ शय्याको एचडीयू समेत सञ्चालनमा ल्याएको छ। यसअघि कोरोनाको पहिलो लहरको महामारीका बेला नगरपालिकाले सोही स्थानमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन गरेको थियो ।
त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा एक सय शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। घरमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितहरूका लागि विशेष प्राथमिकताका साथ आइसोलेसन केन्द्र सञ्चालन गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
यता भक्तपुर नगरपालिकाले पनि वडा नं. ९ ब्रम्हायणी स्थित आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको छ। नगरभित्र कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढे सँगै नगरबासीलाई आइसोलेसनमा राखी उपचार गर्न र कोरोना संक्रमण नियन्त्रणका लागि आइसोलेसन केन्द्र पुनः सञ्चालनमा ल्याएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले २५ शय्याको एचडीयू सञ्चालनमा ल्याएको छ।