६ जेष्ठ, काठमाडौं ।
नेपाली कांग्रेसले कोभिड १९ महामारीमा आफ्नो ज्यानको पर्वाह नगरी अग्रपंक्तिमा खटिरहेका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले कोभिड महामारीमा बिरामीको उपचारका लागि खटिएका डाक्टर, नर्स, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत फ्रन्टलाइनरका लागि विशेष प्याकेज ल्याउन माग गरेको हो ।
बैठकले महामारीमा सरकारले प्रभावकारी ढंगले राज्यको संयन्त्र र उपलब्ध साधनस्रोत परिचालन गरी कोभिड नियन्त्रण, न्यूनिकरण र उपचारमा ध्यान केन्द्रीत गर्नु पर्नेमा आफ्नो दायित्वबाट विमुख हुँदै गएकोमा आपत्ति समेत जनाएको छ ।
स्वास्थ्य सामग्री, उपकरणहरु, औषधी र खरिद गर्दा आर्थिक अनियमितता भएको भन्दै कांग्रेस संसदीय दलको बैठकले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।
साथै कांग्रेसले निषेधाज्ञाका कारण समस्यामा परेका मजदुरलाई राहतको व्यवस्था गर्न माग गरेको छ ।
बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचार संहिता उलंघन गरी प्रधामन्त्री केपी शर्मा ओलीले आफ्ना उम्मेद्वार रामबहादुर थापालाई मत माग्ने वक्तव्य दिएको प्रति भत्सर्ना गर्दै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।