विराटनगर,जेठ ३१
मोरङको बुढीगंगा गांउपालिका–३ स्थित कार्टून उत्पादनगर्ने अरिहन्त अटो कोरोगेशन उद्योगमा आगलागी भएको छ ।
गएराति भएको आगलागी घन्टौंको प्रयासपछि बिहानबाट नियन्त्रणमा आएको छ । मोरङको बांसबारीचोकबाट उत्तर पश्चिमतर्फ रहेको सो उद्योगमा भएको आगलागीबाट उद्योगभित्रका मेशिन,तयारी कार्टून र कच्चा पदार्थकारुपमा प्रयोग गरिने कागज तथा कुटहरु जलेर नष्ट भएको छ ।
गएराति लगभग १० बजे लागेको आगो रातभरिको प्रयासपछि नियन्त्रणमा आएको छ । आगो नियन्त्रणमा लिन मोरङ,सुनसरी र झापाका विभिन्न नगरपालिका बारुणयन्त्र प्रयोग गरिएका छन । हंसराज जैन र पारस लुनिया तथा गिरिश लुनियाको स्वामित्वमा रहेको सो उद्योगको ब्वाईलरको गोदामबाट सल्किएको आगो अन्य गोदामहरुमा फैलिएको आशंका गरिएको छ ।
आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरी समेतगरि चारसय बढी सुरक्षाकर्मी र अग्नि नियन्त्रक खटिएका थिए ।
थप क्षति हुन नदिन ब्यापक सर्तकर्ताका साथ आगो नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।
आगलागीबाट सो उद्योगको ६ वटा गोदाम प्रभावित भएको छ । उक्त उद्योगले चाउचाउ,बियर र जुससहितका विभिन्न उद्योगकालागि प्याकेजिङमा आवश्यकपर्ने कार्टुन उत्पादन गर्दै आएको छ । गएराति उद्योग सञ्चालनमै रहेको अवस्थामा आगलागी भएको थियो ।
विद्युत सर्ट भएका कारण आगलागी भएको हुनसक्ने जानकारी दिदै उद्योगका निर्देशक पंकज लुनियाले क्षतिको विवरण आउन बांकी रहेको बताए । आगलागीबाट उद्योगको वाइन्डीङ मेशिन सहित पन्चिङ,पार्टिसन र कटर लगायतका मेशिनमा क्षति पुगेको निर्देशक लुनियाले बताए। उद्योगमा रहेका कामदारहरुले क्षति न्युनिकरणगर्न गोदाम भित्रका तयारी मालसामान सुरक्षित स्थानमा ओसारेका छन ।
आगलागी भएकै उद्योग परिसरमा महालक्ष्मी वायर एण्ड केबल ईण्डस्ट्रीज रहेपनि सो उद्योगमा भने क्षति भएको छैन ।