३ असार, काठमाडौं ।
राष्ट्रियसभाको शून्य समयमा बोल्ने सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको बैठकमा बोल्ने सांसदहरुले क्वारेन्टाइन व्यवस्थापनदेखि विदेशमा रहेका नेपालीहरुको उद्धार निःशूल्क गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महाकारीका कारण घर फर्किन चाहेपनि भाडा तिर्ने पैसा नभएकाले फर्किन नपाएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
सरकारले रोजगारी नदिएर धकेलीधकेली युवाहरुलाई विदेश पठाएपनि रोग र भोकले ग्रस्त भएकोले उद्दार गर्न नसकेको उनले बताए । उनले भने, ‘‘राम्रा राम्रा र बलियाबलिया युवाहरु रोजगारीकालागि विदेशमा छन् । उनीहरु अहिले विदेशमा अलपत्र छन् रोग र भोकले ग्रस्त छन् । स्वदेश आउन आतुर छन् तर रकम छैन् अभाव छ ।
भाडा तिर्ने पैसा छैन् शरीरपनि जिर्ण भएको छ । नेपालमा काम नदिएको कारणले धकेलीधकेली यसपाली विदेश कति पठाउने भन्दै प्रतिस्पर्धा गर भन्दै पठाउँदै गरिएको भएर उहाँ अहिले अलपत्र परियो भन्छन् । तीनिहरुलाई कसरी ल्याउने ? पैसा नभएको मान्छे पनि त नेपाली हो र यहाँ आउनुपर्यो नी ।’’
उनले दुव्र्यसन र लागु औषधले लिप्त भएर बसिरहेका युवाहरुलाई संरक्षण गरी कसरी रोकथाम गर्न सकिन्छ भन्ने तर्फ गृहमन्त्रालयको ध्यान जानुपर्ने बताए । सांसद विमला घिमिरेले मकवानपुरको हेटौडामा एक महिलाको ढुंगाले हानेर हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गरिन् ।
६ महिना अगाडी दुर्घटनामा श्रीमान गुमाएकी ति महिलालाई पहिले देखि नै घरका सदस्यले मानसिक तनावदिँदै आएको कुराहरु बाहिर आइरहेको उल्लेख गर्दै उनले दोषिलाई कडा कारवाही गर्न माग गरिन् । सांसद शारदा देवीभट्टले कैलाली घटनाका दोषिलाई कडा कारवाही गर्न माग गरिन् ।
महिलाहरु बाहिरको क्वारेन्टाइनमा असुरक्षीत रहेकाले आवश्यक सुरक्षा व्यवस्था मिलाएर होम क्वारेन्टाइनमा राख्न उनले आग्रह गरिन् । सांसद विमला राई पौडेलले घरघरमा जनतालाई सेवादिने भनेर संघीयतामा देश भएको भएपनि स्थानीयतहमा निर्माण भएका क्वारेन्टाइनहरुको अवस्था दुःखलाग्दो भएको बताइन् ।
उनले कोभिड—१९ संकट व्यवस्थापन केन्द्रमा महिला मन्त्रालयको सहभागिता हुनुपर्ने माग गरिन् । सांसद शेरबहादुर कुँवरले सुदूरपश्चिम प्रदेशमा भारतबाट ९० हजार बढी नागरिकहरु आएको र अहिले प्रत्येक जिल्लामा १० हजारभन्दा बढी व्यक्तिहरु क्वारेन्टाइनमा रहेको बताए ।
हजारौँको संख्यामा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण हुन नसकेको आरडिटी पोजेटिभ देखिएका व्यक्तिहरुको पीसीआर परीक्षण ढिलाइ भएको उनले बताए । सांसद रमेशजंग रायमाझीले मंगलबारे अस्पतालको नाम प्रदेश सरकारले परिवर्तन गरी मदन भण्डारी राखेको प्रति आपत्ति जनाए ।
स्थानीयहरुको विरोधका बीच प्रदेशको नाम परिवर्तन भएको उनले बताए । अस्पतालको नाम परिवर्तन नगर्न आग्रह गर्दै उनले मदन भण्डारीको नाममा अस्पताल चाहिने भए सुन्दर हरैचा नगरपालिकामा आफुले जग्गा उपलब्ध गराउने उनले बताए ।
सांसद सुमनराज प्याकुरेलले सम्भु सदाको थुनामा मृत्यु भएको घटनाको छानबिन अगाडी बढ्न नसकेको प्रति दुःख व्यक्त गरे । प्रहरीको टर्चरका कारण मृत्यु भएको भन्दै परिवारले अहिलेसम्म शव नउठाएको उल्लेख गर्दै उनले सरकारी वकिल कार्यालयबाट मुद्दा दर्ता भएपनि छानबिन सुरु नभएको बताए ।