२६ जेठ, काठमाडौँ ।
रुकुम पश्चिममा भएको जातिय विभेद विरुद्धको घटनाको छानविन गर्न संसंसदीय विशेष समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको जानकारी गराएका हुन् ।
सभामुखले बैठकको सहमतिका लागि प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ “रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडानम्बर ८ सोतीमा मिति २०७७ जेठ १० गते घटेको घटनाको सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको र उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने सम्बन्धमा मैले सदनलाई जानकारी समेत गराईसकेको हुँदा तत् सम्बन्धमा प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गर्नको लागि समितिमा रहनुहुने माननीय सदस्यहरुको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्दछु । ” बैठकले विशेष समिति गठन सम्बन्धी प्रस्तावमा सहमति जनाएको थियो ।
सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित “चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति ”मा सांसदहरु एकवाल मिर्याँ, दुर्गा पौडेल, पार्वती कुमारी बिशुन्के, प्रकाश रसाईली स्नेही , बिमला बिक, महेश्वरजंग गहतराज अथक, मिन बहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव सदस्य छन् । समितिलाई कार्यप्रारम्भ भएको मितिले ३० दिनको समय दिईएको छ । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफैँ बनाउने छ ।