२ असार, काठमाडौँ ।
पश्चिम रुकुममा गाउँलेको आक्रमणबाट मारिएका नवराज विकसहित ६ जनाका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । गृहले घाइतेको निशुल्क उपचारको व्यवस्था गर्ने पनि प्रस्ताव गरेको छ ।
मृतकका परिवारलाई राहत र घाइतेलाई उपचार खर्च उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउँदै गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयमा पनि पत्र पठाइएको जानकारी दिए । रुकुम पश्चिम जिल्ला सुरक्षा समिति बैठकले गरेको सिफारिसका आधारमा राहत तथा उपचार खर्चको व्यवस्था गर्न प्रक्रिया थालिएको उनले बताए ।
गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि मृतकका परिवारलाई राहत उपलब्ध गराइने गृह मन्त्रालले जनाएको छ । जेठ १० गते राति चौरजहारी नगरपालिका-८, रुकुम पश्चिम (सोती)मा गाउँलेको कुटाइबाट भेरी नगरपालिका-४ जाजरकोटका नवराज विक, गोविन्द शाही, लोकेन्द्र सुनार, गणेश बूढा, सन्दीप बिक र तथा चौरजहारीका टिकाराम सुनारको हत्या भएको थियो १२ जना घाईते भएका थिए । मारिएका सबैको भेरी नदीमा शव भेटिएको थियो । हत्यामा संलग्न भएको अभियोगमा ३४ जनाविरुद्ध आइतबारमात्रै रुकुम जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । आरोपितमध्ये ५ जना अझै फरार छन् ।
घटनालगत्तै गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा मृतकका परिवारलाई राहत र घाइतेलाई क्षतिपूर्ती उपलब्ध गराउन सिफारिस गरिएको हो ।