८ साउन, लमजुङ ।
लकडाउन अन्त्य भएसँगै लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरस (कोभिड १९) संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएका छन् ।
बेंसीसहर नगरपालिका ३ बाहुनबेंसीको यशोब्रह्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ । लामो समय विद्यालय नखुल्दा विद्यार्थीमा परेको समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ विद्यालय खुलाइएको उनले बतए । उनका अनुसार विद्यालयमा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ । साबुनपानीले हात धुने व्यवस्था गरिएको छ ।
कक्षाभित्र पस्दा स्यानीटाइजर प्रयोग गर्ने, एउटा बेन्चमा २ जनामात्र राखेर पढाइने गरिएको छ । शौचालय जाँदा पनि एक÷एक जना पठाउने गरिएको उनले बताए । यसअघि १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई अध्ययन गराइँदै आएकोमा अहिले विहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र पढाउने गरिएको छ । उनीहरुलाई अहिले तत्काल विद्यालयको तालिका अनुसार ५ वटा विषय पढाउने गरिएको र अर्को हप्ता बाँकी विषय पढाइने छ । २ सय ४७ जना विद्यार्थी रहेको विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र आएका छन् । २० जना नयाँ भर्ना भएका छन् ।
बेंसीशहर नगरपालिका शिक्षा समितिले विद्यार्थीको पढाईलाई सहज बनाउन टोलटोलमा वा विद्यालयमा शिकाई सहजीकरण गर्न निर्देशन दिएपछि टोलटोलमा भन्दा विद्यालयममै सहज हुने भएकाले विद्यालय सञ्चालन गरिएको जनाएको छ । विद्यालय बन्द हुँदा बालबच्चालाई सम्हाल्न समस्या भएका अभिाभवक पनि विद्यालय खुलेपछि खुसी भएका छन् ।