६ जेष्ठ, मकवानपुर । वाग्मती प्रदेशको राष्ट्रिय सभा उपचुनावको मतदान भइरहेको छ । हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा अहिले मतदान भइरहेको हो ।
यस्तै कोरोना परीक्षणको रिपोर्ट नल्याउने मतदाताहरुको जाँच पनि मतदान स्थलमा नै भइरहेको छ ।
पालिका र प्रदेशसभाका जनप्रतिनिधिले कोरोना जाँच गरेको रिपोर्ट नल्याएकाले एन्टिजेन विधिमार्फत परीक्षण गर्दै मतदान पनि भइरहेको हो ।
सङ्क्रमित जनप्रतिनिधिहरुले छुट्टै लाइनमा बसेर मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ ।
मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदातालाई कोरोना परीक्षणको रिपोर्ट ल्याउन भनिएको तर रिपोर्ट नल्याएकाहरुलाई एन्टिजेन विधिमार्फत परीक्षण गराएर परीक्षणको नतिजाअनुसार मतदान गर्न लगाइने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
उपचुनावमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टीबाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय सभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनावमा मतदान सुरु भएको हो ।