एजेन्सी, मंसिर २६
पाँच राज्यबाट विधानसभा निर्वाचनको परिणाम आएसँगै भारतमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रधानमन्त्री नरेन्द्र मोदीको भविष्यबारे विभिन्न टिकाटिप्पणी हुन थालेको छ । राजनीतिज्ञ, लेखक तथा विश्लेषकहरुले विधानसभाको परिणामलाई सन् २०१९ मा हुने लोकसभा निर्वाचनसँग जोडेर विश्लेषण गरेका छन् ।
इन्डियन एक्सप्रेसले राजस्थान, छत्तीसगढ र मध्य प्रदेशको चुनावी नतिजाजस्तै माहोल रहे लोकसभा निर्वाचनमा भाजपाले ठूलै नोक्सान बेहोर्नुपर्ने भन्दै विश्लेषण छापेको छ । विश्लेषणमा सन् २०१९ मा यी तीन राज्यमा भाजपाले ३१ सिट गुमाउन सक्ने उल्लेख छ । २०१४ मा भएको निर्वाचनमा यी तीन राज्यमा भाजपाले ६५ मध्ये ६२ सिटमा विजय प्राप्त गरेको थियो ।
पछिल्लो निर्वाचनले राजस्थान, छत्तीसगढ र मध्य प्रदेशमा भाजपाको लोकप्रियता कम हुँदै गएको प्रष्ट देखाएको विश्लेषकहरुले बताएका छन् । कतिपयले भने सिटका आधारमा राजस्थान र मध्यप्रदेशमा भाजपाको प्रदर्शन धेरै खराब नरहेको बताएका छन् ।
अमर उजाला नामको अखबारले पनि यस्तै खालको विश्लेषण प्रकाशित गरेको छ । लेखमा पाँच राज्यको ताजा परिणामलाई २०१४ को लोकसभा निर्वाचनसँग दाँज्दै २०१९ मा भाजपाले ४० सिट गुमाउन सक्ने अनुमान गरिएको छ । यी राज्यमा लोकसभाको ८३ सिट छ । भाजपासँग यीमध्ये ६३ सिट छ । विधानसभाजस्तै प्रदर्शन रहने हो भने २०१९ मा भाजपासँग ८३ मध्ये २० सिटमात्रे बच्नेछ ।