विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेतमा

१७ जेठ ७८, मंगलबार

१८ जेठ, काठमाडौं ।

विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो ।

नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल खेलेर त्यहाँबाट कुवेत प्रस्थान गरेको हो । कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ । पहिलो खेल नेपालले यही जेठ २० गते चाइनिज ताइपेईसँग खेल्ने छ ।

Advertisement

दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गर्नुभएको हो । नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको हो ।

Advertisement

शनिवार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो । कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो । सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह ’बी’ मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा छ ।

त्यही समूहमा रहेको चाइनिज ताइपेई अङ्कविहीन छ । समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत रहेको छ । यस्तै १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ ।

विश्व फुटबल महासङ्घ (फिफा)को वरीयतामा अष्ट्रेलिया ४१ औं स्थानमा, जोर्डन ९५ औं, चाइनिज ताइपेई १४१ औं तथा नेपाल १७१ औं स्थानमा छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top