विराटनगर, फागुन २२
जापानमा प्रवासी जीवन बिताईरहनु भएका समाजसेवी कृष्ण कार्कीको एकल सहयोगमा मोरङस्थित रतुवामाई खोलाका बाढी पिडीतहरुका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न भएको छ । रतुवामाई बाढी पीडित पुनर्वास परियोजनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाजसेवी कार्र्कीको एकल आर्थिक सहयोगमा पीडितको पुनर्वासका लागि ६ वटा घर निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराएको हो ।
परियोजनामा आवद्ध इन्जिनियर चुडामणि कार्कीले सो बाढीबाट पीडित सबैभन्दा गरिव, असहाय र जेष्ठ नागरिकहरुको पुनर्वासका लागि ६ वटा घर समाजसेवी कार्कीको एकल सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको जानकारी दिए । सो परियोजनाको काम समाजसेवी कार्कीको सहयोगमा गत मंसीर २१ गतेबाट सुरु गरि माघ अन्तिम साता सम्पन्न गरिएको थियो ।
इन्जिनियर कार्कीले पीडितका लागि निर्माण गरिएको सो घर आगामी चैत्र २ गते हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको पनि बताए । समाजसेवी कार्कीको २० लाख आर्थिक सहयोगका बाढी पीडितका लागि ६ वटा घर निर्माण गरिएको हो । अन्य ४ वटा घर पनि निर्माण गरी पीडितलाई हस्तान्तरण गर्ने पनि इन्जिनियर कार्कीले बताए । गत असारमा आएको रतुवा खोलाको बाढीबाट रतुवामाई नगरपालिका वडा नम्बर ३, वर्ती टोलका २१ घर परिवार पूर्ण रुपमा विस्थापित भएकोमा समाजसेवी कार्कीले १० घर परिवारको पुनर्वासको व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।