४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेलिरहेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १११ रनमै अलआउट भयो ।
साविक विजेता समेत रहेको पुलिसको यो लज्जास्पद ब्याटिङ हो । पीएम कपमा पुलिसको यो अहिलेसम्मकै कम स्कोर हो ।
बाग्मतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्यो ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे । बाँकी खेलाडीले दाहोरो अंकमा रन छुन सकेनन् ।
पुलिसलाई अलआउट गर्न बाग्मतीका नन्दन यादव र तिलकराज भण्डारीले ४(४ विकेट लिए ।
तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।