×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुलमानको मध्यपूर्व यात्राः चुनावको तयारी कि जनमतको परीक्षण?

१९ असार २०८२
१९ असार , काठमाडौं ।
नेपाली समाज नायकको खोजीमा सधैं आतुर छ । राजनीतिक दलदल, भ्रष्टाचार र अक्षमताको दलदलमा फसेको देशमा जब कोही व्यक्ति आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर आमजनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ, उसलाई नायकको दर्जा दिन नेपाली समाजले कन्जुस्याइँ गर्दैन।
कुलमान घिसिङ त्यस्तै एक नाम हो, जो एक प्रशासकभन्दा माथि उठेर  लाखौं नेपालीका लागि आशा र भरोसाको प्रतीक बने । १८ घण्टा लामो कहालिलाग्दो लोडसेडिङको अन्धकार युगलाई समाप्त गर्दै ’उज्यालो नेपाल’ को सपना साकार पार्ने यी कुशल व्यवस्थापक आज आफ्नो प्रशासनिक जीवनको अध्याय सकेर राजनीतिक क्षितिजमा उदाउने सङ्केत गरिरहेका छन्।
कुलमान घिसिङको कथा सुरु हुन्छ २०७३ सालबाट, जब देश चरम ऊर्जा सङ्कटमा थियो। दैनिक १२ देखि १८ घण्टाको लोडसेडिङले आममानिसको दैनिकी, विद्यार्थीको पढाइ, उद्योग–व्यवसाय र समग्र राष्ट्रको अर्थतन्त्रलाई नै  शिथिल बनाएको थियो।
त्यही निराशाको समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङलाई नियुक्त गरे ।
जुन निर्णय देशका लागि एक ऐतिहासिक कोसेढुङ्गा साबित भयो । प्राधिकरणको नेतृत्व सम्हाल्दा घिसिङले ३५ अर्ब रुपैयाँको सञ्चित घाटामा डुबेको र अव्यवस्थाले जकडिएको संस्था पाएका थिए।
तर, उनले हार मानेनन्। कुशल व्यवस्थापकीय क्षमता, प्राविधिक ज्ञान र दृढ इच्छाशक्तिका साथ उनी अघि बढे। उनले विद्युत चुहावट नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखे।
राजनीतिक र प्रशासनिक दबाबलाई पन्छाउँदै उनले ठूला उद्योगदेखि सामान्य घरसम्मको चुहावट रोक्न कठोर कदम चाले, जसको परिणामस्वरूप उनको कार्यकालमा विद्युत चुहावट २६ प्रतिशतबाट १५ प्रतिशतमा झ¥यो।
उनले उत्पादन, प्रसारण र वितरण प्रणालीमा अभूतपूर्व सुधार गरे। माग र आपूर्तिको वैज्ञानिक व्यवस्थापनमार्फत उनले असम्भव मानिएको लोडसेडिङ अन्त्यलाई सम्भव बनाए।
कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभरिबाट लोडसेडिङ अन्त्यको घोषणा हुँदा आमजनताले अविश्वसनीय राहत महसुस गरे।
कुलमान घिसिङ नाम हरेक नेपालीको घर–घरमा सकारात्मकताको पर्याय बन्यो। उनले प्राधिकरणलाई घाटाबाट उठाएर सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थाको रूपमा स्थापित गरे।
देशलाई विद्युतमा आत्मनिर्भर बनाउने दिशामा मात्र होइन, बर्खायामको खेर जाने बिजुली भारत र बंगलादेशको बजारसम्म पु¥याउने मार्गचित्र कोरेर उनले आफ्नो दूरदर्शिताको पनि प्रमाण दिए।
पहिलो कार्यकालमा पाएको अपार सफलता र जनसमर्थनका कारण २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त ग¥यो। तर, दोस्रो कार्यकाल सहज रहेन।
सत्ता समीकरण फेरबदलसँगै उनले राजनीतिक असहयोग र हस्तक्षेपको सामना गर्नुप¥यो। वर्तमान सरकार र खासगरी ऊर्जामन्त्री दीपक खड्काले उनलाई निरन्तर तारो बनाए।
पटक–पटक स्पष्टीकरण सोध्ने, काममा असहयोग गर्ने र अन्ततः भ्रष्टाचारको गम्भीर आरोप लगाउनेसम्मका   प्रयासहरु भए । उनको दोस्रो कार्यकाल सकिन केवल चार महिना बाँकी रहँदा सरकारले उनलाई बर्खास्त गर्ने निर्णय ग¥यो।
देश र जनताका लागि अतुलनीय योगदान पु¥याएका एक कुशल प्रशासकलाई यसरी अपमानजनक ढंगले पदबाट हटाउँदा आमजनतामा सरकारप्रति तीव्र आक्रोश र कुलमानप्रति गहिरो सहानुभूति पैदा भयो। उनको बर्हिगमनपछि उनीमाथि लगाइएका सबै आरोपहरू स्वतः सेलाएर जानुले यो प्रस्ट पार्छ कि ती सबै उनलाई हटाउने बहाना मात्र थिए।
यो घटनाले कुलमानलाई ’पीडित नायक’ को रूपमा स्थापित ग¥यो, जसले उनको सार्वजनिक छविलाई झनै उँचो बनाइदियो।प्राधिकरणबाट बाहिरिएपछि कुलमानलाई राजनीतिमा आउन चौतर्फी दबाब र सुझाव आउन थाल्यो।
२०७९ को आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले उनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न औपचारिक प्रस्ताव नै गरेको थियो।
तर, कुनै पार्टीको झण्डाभन्दा माथि उठेर साझा व्यक्तिको रूपमा देशको सेवा गर्ने लक्ष्य राखेका कुलमानले त्यस प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरे।
यद्यपि, माओवादीले आफ्नो चुनावी पोस्टरमा अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मासँगै उनको तस्बिर राखेको थियो, जसप्रति कुलमानले असन्तुष्टि जनाएपछि हटाइयो।
तर, समय सधैं एकनास रहँदैन। प्रशासनिक सेवाबाट बिदा भएसँगै कुलमान अब राजनीतिक माध्यमबाटै बृहत्तर भूमिकामा देखिन चाहेको स्पष्ट सङ्केतहरू दिन थालेका छन्।
केही महिनाको विश्रामपछि उनले आफ्नो ध्यान विदेशमा रहेका लाखौं नेपाली श्रमिकहरूतिर मोडेका छन्। हालै उनले सामाजिक सञ्जालमा मध्यपूर्वी देशहरूको भ्रमणबारे लेखेको स्टाटस सामान्य यात्राको सूचना मात्र थिएन, यसलाई एक सुविचारित राजनीतिक कदमको थालनीको रुपमा विश्लेषण गरिएको छ ।
उनले लेखेका छन्, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएको तपाईंहरूलाई म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु… तपाईंहरूको जीवन, संघर्ष र सपना बुझ्ने तथा मेरा अनुभवहरू साटासाट गर्ने प्रयासस्वरूप म यो भ्रमणमा निस्किएको हुँ।“
यो भाषा कुनै पूर्वप्रशासकको होइन, बरु जनताको ’सेन्टिमेन्ट’ बुझ्ने र उनीहरूसँग भावनात्मक सम्बन्ध जोड्न चाहने एक राजनीतिकर्मीको हो।
बहराइन, ओमान, युएई र कतारमा रहेका नेपालीहरूको दुःख, सपना र योगदानलाई शब्दमा सम्मान दिँदै उनीहरूसँग प्रत्यक्ष भेट्ने उनको घोषणाले प्रवासी नेपाली समुदायमा उत्साह जगाएको छ।
कुलमानको यो मध्यपूर्व यात्रालाई रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनसँग जोडेर हेरिएको छ। माओवादी अध्यक्ष प्रचण्डले कुलमानलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउन चाहेको खबर राजनीतिक वृत्तमा बाक्लो छ।
कुलमानजस्तो लोकप्रिय र स्वच्छ छविको उम्मेदवारले चुनाव जित्ने बलियो सम्भावना देखेर माओवादीले उनलाई फेरि मनाउने प्रयास गरिरहेको बुझ्न सकिन्छ।
प्रचण्डले सार्वजनिक रूपमै कुलमानको प्रशंसा गर्दै “योग्य अफिसरलाई नियुक्त गर्दा देश लोडसेडिङमुक्त भएको“ भन्दै आफ्नो निर्णयप्रति गर्व व्यक्त गर्दै आएका छन्।
यो सम्बन्ध र विश्वासले कुलमानको राजनीतिक यात्रामा माओवादी एउटा सहज मञ्च बन्न सक्ने  अनुमान गरिएको छ । तर उनले आफूलाई माओवादीको झण्डामुनि समाहित गर्छन कि गर्दैनन् भन्ने  गहन प्रश्न चाँही अनुत्तरित छ ।
कुलमान घिसिङको यात्रा एक दक्ष प्राविधिकबाट सुरु भएर नायकको तहसम्म पुगेको छ। उनले प्रमाणित गरेका छन् कि इच्छाशक्ति र इमानदार भएमा जस्तोसुकै जकडिएको प्रणालीमा पनि परिणाम निकाल्न सकिन्छ।
तर, अब उनी एक फरक र अझ जटिल मैदानमा प्रवेश गर्ने सङ्केत गर्दैछन्। प्रशासन र राजनीति दुई फरक खेल हुन्। प्रशासनमा कुशलता र व्यवस्थापनले काम गर्छ भने राजनीतिमा जनसम्बन्ध, सम्झौता र कहिलेकाहीँ कटु प्रतिस्पर्धाको सामना गर्नुपर्छ।
उनको मध्यपूर्व यात्रा उनको राजनीतिक प्रवेश अघिको एक टेस्ट हुन सक्छ। अब  प्रतिक्षा बाँकी छ कि , मध्यपूर्वका नेपालीहरुले कुलमानलाई के सुझाउँछन् ?
के ’उज्यालो नेपाल’ का नायकले नेपालको अँध्यारो राजनीतिमा पनि उज्यालो छर्न सक्लान् ? यो प्रश्नको उत्तर भविष्यले देला, तर यति निश्चित छ, कुलमान घिसिङले चाल्ने हरेक कदमलाई नेपाली समाजले निकै उत्सुकता र आशाका साथ हेरिरहनेछ।
Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top