हेटौंडा : झन्डै ७ महिनासम्म बन्द भएका सिनेमा हलमा लाखौं मूल्यका सिट मुसाले काटेर काम नलाग्ने पारिदिएको छ । हेटौंडाको ओम्याक्स र एनएस सिनेमा हलमा मुसाले सिट र कार्पेट नष्ट गरेर हैरान भएको सञ्चालकहरुको भनाइ छ ।
करोडाैँ लगानीमा स्थापना गरिएको हल बन्द हुँदा सञ्चालकलाई घाटा त परेको छ नै, त्यही हलबाट आफ्नो गुजारा चलाउँदै आएका मजदुरलाई समेत ठूलो असर परेको छ ।
हेटौंडा–४, नारायणी मलमा रहेको एनएस सिनेमा चैतदेखि बन्द छ । कोरोना महामारी फैलिएकै कारण बन्द रहेको हलमा हाल मुसाले दुःख दिन थालेको छ । हलभित्र उज्यालो हुन नपाएको र सुनसान रहेका कारण मुसाले त्यहाँ रजाइँ गर्न थालेको छ । हलका करिब ३५ देखि ४० वटा सिट मुसाले टोकेर काम नलाग्ने अवस्थामा पु¥याएको छ ।
हल सञ्चालक नवराज आचार्य भन्नुहुन्छ– ‘दुई ठाउँमा हल सञ्चालन हुँदै आएको थियो, जसमा अडियो वानमा एक सय ५० र अडियो टुमा दुई सय ५० सिट छन् । हाल ती सिट र कार्पेटमा मुसा लाग्न थालेपछि चिन्तित बनाएको छ ।’ प्रतिसिट करिब २० हजार मूल्य पर्ने उनले बताए । त्यहीअनुसार मुसाले सिट काट्दै जाने हो भने भौतिक संरचनामा मात्र लाखौं घाटा हुने आचार्यले गुनासो पोख्नुभयो ।
मकवानपुरे दर्शकको अर्को लोकप्रिय हल ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जन भन्नुहुन्छ– ‘हलमा मुसाले दुःख दिइरहेको छ । करिब ३ सय सिट नै मुसाले नष्ट गर्ने हो कि भन्ने चिन्ता छ ।’ ‘कार्पेट र सिटमा मुसाको रजाइँ थामिनसक्नु छ।’ –उहाँ भन्नुहुन्छ ।
अब पनि सञ्चालन नभए फिल्म क्षेत्रदेखि सञ्चालकहरु उँभो लाग्न निकै समय लाग्ने निश्चित रहेको बताउनुहन्छ । स्वास्थ्य सुरक्षा मध्यनजर गर्दै अन्य क्षेत्रजस्तै हल सञ्चालनमा आओस्् भन्ने चाहना राख्ने सरोकारवाला पक्ष यतिबेला सरकारी निर्णयको पर्खाइमा छ । स्वास्थ्य सुरक्षा मापदण्ड तोकेर सञ्चालन अनुमति दिन उनीहरुले सरकारसँग अनुरोध गरेका छन् ।, याे समाचार नेपाल समाचारपत्रमा रोशन पराजुलीले लेखेका छन् ।