१० जेठ, काठमाडौँ ।
मुलुकमा कोभिड–१९ संक्रमणको पछिल्लो अवस्था हेर्दा केही कमी आएको देखिएको छ ।
विज्ञहरूका अनुसार हाल समग्र नेपालको अवस्था हेर्दा कोभिडको पिक (उत्कर्ष) मा पुगेको जस्तो देखिए पनि एक सातापछि स्पष्ट अवस्था देखिनेछ । एक साताको विश्लेषणले संक्रमण लगभग स्थिर जस्तो देखिन्छ । तर मृत्युदर भने घटेको छैन ।
आइतबार भएको १८ हजार ९ सय ६५ नमुनाको पीसीआर परीक्षणमा ४०.०६ प्रतिशत अर्थात् ७ हजार ५ सय ९८ जना पोजिटिभ देखिएका छन् । १ सय ९३ जनाको मृत्यु भएको छ । गत वर्षदेखि हालसम्म कोभिडले मुलुकमा ६ हजार ३ सय ४६ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो साताको तुलनामा एक सातायता कोभिडले मृत्यु हुनेहरूको संख्या भने बढेको छ । यो साता हालसम्मकै बढी १ हजार ३ सय ४५ जनाको मृत्यु भएको छ भने पछिल्लो साता १ हजार २ सय ८१ जनाको मृत्यु भएको थियो । दोस्रो लहरअन्तर्गत वैशाख १ देखि हालसम्मको ४० दिनमा कोभिडले ३ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।