९ अर्ब बाँडेर खाएको प्रमाण देखाउन बाबुरामलाई कांग्रेसको चुनौती

२४ असोज ७७, आइतबार

२५ असोज, काठमाडौँ ।
नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजनाबारे पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिप्रति अनुसन्धान गर्न माग गरेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतले अर्बौं कमिसन लिएको भनी दिएको भट्टराईले लगाएको आरोप प्रमाणसहित पुष्टि गर्न कांग्रेसले चुनौती पनि दिएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए । त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए ।

सभापति देउवामाथि भट्टराईले लगाएको उक्त आरोपको खण्डन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गरेका छन् । शर्माले विज्ञप्तिमार्फत प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ, ‘यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’

Advertisement

नेकपा अध्यक्ष ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बुढिगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको निर्णयमा कांग्रेसले विरोध गर्दै आएको प्रवक्ता शर्माको बताएका छन् । उनले भनेका छन्– ‘कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहनु भएको नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल देश आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा एक विशेष समिति गठन गरेको थियो ।’

भट्टराईले बुढिगण्डकी जलविद्युत् परियोजना निर्माण गर्न पहल गर्नुभन्दा पनि सस्तो टिप्पणी गरेर जनतालाई भ्रममा पारेको कांग्रेसको आरोप छ । प्रवक्ता शर्माले भनेका छन्– ‘डा. बाबुराम भट्टराई बुढीगण्डकीबारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिक देखिने भ्रममा पर्नु भएको छ । हलुका टिप्पणीहरूलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ ।’

Advertisement

भट्टराईले लगाएको आरोपबारे प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालको तर्फबाट भने कुनै प्रष्टीकरण वा खण्डन आएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top