अब स्वदेश फर्कन सहज, घर आउन चाहनेले अनुमति लिनैपर्ने नियम निष्क्रिय

२२ असोज ७७, शुक्रबार

काठमाडौँ : नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई सहज भएको छ । हवाई उडान नियमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।

प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को संक्रमण बढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फिर्न सक्ने वातावरण बनेको हो । ‘हामीले नामावली प्रकाशन बन्द गरिसक्यौं । अब स्वदेश फिर्न चाहनेले दूतावासमा नाम दर्ता गर्ने र अनुमति लिनैपर्ने बाध्यता छैन,’ संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फोनमा कान्तिपुरसँग भने, ‘पहिलाजस्तो जान पाइएन भन्ने अवस्था अहिले छैन ।’

कोरोनाले यूएईको सेवा क्षेत्रलाई ठूलो असर परेको थियो । रोजगार गुमाएर स्वदेश फिर्न सक्ने नेपालीको चाप थेग्न दूतावासलाई निकै कठिन परेको थियो । यूएईमा मात्रै झन्डै ५० हजार जनाले घर फिर्तीका लागि नाम दर्ता गराएका थिए । असोज २० सम्म यूएईबाट २७ हजार ४ सय ३८ जना स्वदेश फिरेका छन् । यसरी फिर्नेमा झन्डै १० प्रतिशत महिला रहेको दूतावासले जनाएको छ ।

Advertisement

‘अब जरिवाना तिर्न नसकेर रोकिएकाहरूका केस मात्रै दूतावासले हेर्नुपरेको छ,’ राजदूत ढकालले भने, ‘जरिवाना तिर्न नसकेर विमानस्थलबाट फर्कनुपरेकाको जरिवाना मिनाहा गर्नका लागि यूएई सरकारसँग समन्वय भइरहेको छ ।’ बुधबार दूतावासले १५ जनाको ओभरस्टेबापत लागेको ६० हजार दिराम (झन्डै १८ लाख रुपैयाँ) जरिवाना मिनाहा गरेको थियो ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले घर जान पाइएन भनेर श्रमिकहरू दूतावासमा आउन छाडेको बताए । कतारबाट स्वदेश फिर्नका लागि नाम दर्ता गरेका २४ हजारमध्ये १४ हजार ४ सय ७८ जना स्वदेश आइसकेका छन् । कतारबाट यसरी फिर्नेमा ४ सय ६८ जना महिला छन् । ‘अहिले हामीले कन्सुलर सेवामा केन्द्रित गर्न पाएका छौं । तलब नपाएका केसहरू हेर्न थालेका छौं । पहिलाजस्तो दिनरात स्वदेश फिर्न चाहने नेपालीको पहिचान गर्नु परेन । प्राथमिकताका आधारमा छुटाउनुपरेन,’ उनले भने, ‘नियमित उडानमा पनि स्वदेश फिर्नेको चाप छैन ।’

Advertisement

उनका अनुसार टिकटको अभावमा स्वदेश फिर्नबाट कोही वञ्चित छैन ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top