२३ असोज, विराटनगर । कोरोना संक्रमणका कारण शुक्रबार विराटनगर र धरानमा गरी चारजनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र नोबेल मेडिकल कलेज विराटनगरमा दुईजनाको मृत्यु भएको हो ।
नोबेलमा रंगेली नगरपालिका-९ र धरान उपमहानगरपालिका -१२ का पुरुषको मृत्यु भएको हो । बीपीमा इटहरी र दुहबीका पुरुषको मृत्यु भएको छ ।
नोबेल मेडिकल कलेज विराटनगरमा मोरङको रंगेली नगरपालिका-४ का ७२ वर्षीय संक्रमित वृद्धको बिहीबार राति करिब १० बजे मृत्यु भएको हो ।
१७ असोजमा नोबेलमा भर्ना भएका सुनसरी धरान उपमहानगरपालिका-१२ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुईजना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका-६ का ६८ वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा दीर्घ रोग थिएन ।
प्रतिष्ठानमा दुहबी नगरपलिकाका ५२ वर्षीय संक्रमित पुरुषको शुक्रबार बिहान २ बजेतिर मृत्यु भएको हो । मृतकमा मिर्गौला रोगको गम्भीर समस्या थियो ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।