चीनले हुम्लामा सीमा मिचेको कांग्रेसको निष्कर्ष

२८ असोज, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएको कांग्रेसले बताएको छ । चीनको तर्फबाट सीमाना मिचिएको खवर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि कांग्रेसले लगाएको छ । पिलर नजिकै चीनले तारबार गरेको, नेपाली भूमिमा भौतिक संरचना निर्माण गरेको र एउटा पिलर भरखरै निर्माण गरेको तथ्यहरु सार्वजनिक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारी अधिकारीहरु अध्ययनका लागि घटनास्थल नपुग्दै सीमा मिचिएको छैन भन्दै अभिव्यक्ति दिने सरकारले सरकारी टोलीको प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै उनले प्रश्न समेत गरेका छन् । उनले भने ‘‘सीमा मिचिएकै छैन भनेर सरकारले हतारोमा टिप्पणी ग¥यो । स्थलगत अध्ययन गरी फर्किएको टोलीको पतिवेदनका आधारमा राजनीतिक दल र राज्यले आफ्नो धारणा बनाउनुपर्नेमा त्यसो हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारीले सीमा मिचिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधियो । अहिले टोली फर्किएर आउँदा पनि न प्रतिवेदनका आधारमा सरकारले आफ्नो धारणा समेत सार्वजनिक गरेन ।’’

Advertisement

प्रवक्ता शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमी लगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको बताए । उनले भने, ‘‘सरकारले अध्ययनबिना नै चीनले भूमि नमिचेको सार्वजनिक अभिव्यक्ति दियो । त्यसलाई हामीले गम्भीर रुपमा लियौँ । जीवन बहादुर शाहीको नेतृत्वमा १४ गते गएको टोलीले सीमा मिचिएको तथ्यसहित प्रतिवेदन बुझाउनुभएको छ । कुटनीतिक प्रश्नमा आवेगमा आएर भन्दा वस्तुगत भएर बोल्नुपर्ने भएपनि सरकारले हतारमा सीमा मिचिएको छैन भन्यो । अहिले प्रतिवेदन आएपनि सरकारले सार्वजनिक गरिरहेको छैन । आफ्नो धारणा समेत सार्वजनिक नगरी मौन बसेको छ ।’’ कांग्रेसले सरकारलाई आफ्नो धारणा छिटो सार्वजनिक गर्न माग गर्दै उच्च स्तरीय वार्ता टोली गठन गरी भूमि फिर्ताका लागि पहल गर्नुपर्ने पनि बताएको छ ।

Advertisement

११ दिनसम्म नेपाल—चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्ने निष्कर्ष पनि निकालेको छ । चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ । चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top