सोलु–मिर्चैया प्रसारण लाइन: अवरोध हटाउन ऐलानी जग्गाको समेत मुआब्जा दिइने

२८ असोज ७७, बिहीबार

काठमाडौँ : दुई वर्षदेखि अवरुद्ध सोलु कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने भएको छ । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो ।

Advertisement

स्थानीयवासीको मागअनुरूप ऐलानी जग्गाको समेत मुआब्जा भुक्तानी गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सहमति जनाउनु भएपछि अवरोध खुल्ने अवस्था आएको हो । स्थानीयवासीले प्रसारण लाइनको बाटो (राइट अफ वे)मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राख्दै आएका थिए ।

मन्त्री पुनले मङ्गलबार सो क्षेत्रका सङ्घीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी–४ का वडाध्यक्ष कृष्णराज दनुवार र सोलु कोरिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरी स्थानीयवासीको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सहभागीले निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement

यो प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३ मेगावाटमध्ये ४।५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुङ्गा हुँदै सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । जसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख गौतमले बताउनुभयो । गौतमका अनुसार कुल ३०२ वटा टावरमध्ये २८८ वटाको निर्माण सम्पन्न भइसकेको छ । कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाँग्ने कामसमेत सकिएको छ ।

Advertisement

मरुवाबाहेक अन्य चारवटा टावर निर्माणको काम जारी रहेको र दशैँअगावै सकिने आयोजनाले जनाएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रि«य प्रसारण लाइनमा जोडिन सम्भव हुनेछ । नेपाल विद्युत् प्राधिकरणले सोलु कोरिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ ।

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले यो प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए २०७६ माघमा निर्माण सम्पन्न भइसकेको हुने थियो । बैठकपछि सांसद राईले स्थानीयवासीका समस्या करिब समाधान भएको प्रतिक्रिया दिनुभयो । नगरप्रमुख श्रेष्ठले आफूहरू काठमाडौँबाट फर्किएलगत्तै स्थानीयवासीसँग छलफल गरेर प्रसारण लाइन निर्माण सुचारु गराउने जानकारी दिनुभयो ।, यो समाचार आजको गोखापत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top