मैले वैज्ञानिकको कुरा सुनेको भए अहिले देश डिप्रेशनमा जाने थियोः ट्रम्प

मैले वैज्ञानिकको कुरा सुनेको भए अहिले देश डिप्रेशनमा जाने थियोः ट्रम्प

४ कार्तिक, एजेन्सी ।
अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको थियो ।

जुलाई यता एकै दिन पहिलो पटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो हप्ता अमेरिकाका ४८ राज्यमा संक्रमण बढ्दो क्रममा देखिएको छ । मिजूरी र भरमोन्टमा मात्रै संक्रमण सुधारको क्रममा छ ।

यसबाहेक अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने चुनावका लागि कोरोना भाइरसविरुद्धको प्रयास नै प्रमुख मुद्दा बनिरहेको छ । संक्रमण बढ्दो क्रममा रहेको र आफू पनि संक्रमित भएर निको भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर भिडभाड युक्त चुनावी सभा गर्न छोडेका छैनन् ।

नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरे ।

ट्रम्पले भने, ‘जो बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गर्छन् । उनी लकडाउन चाहन्छन् । उनले वैज्ञानिकको कुरा सुन्ने छन् । यदी मैले पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेको भए अहिले देश डिप्रेशनको ठूलो समस्यामा हुने थियो ।’

विज्ञहरुले भने पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेर सो अनुसार काम गरेको भए दशौँ हजार अमेरिकीको ज्यान जोगिने बताउँदै आएका छन् । तर विज्ञ तथा विज्ञान र उनीहरुलाई सुन्नेको आलोचना तथा व्यंग्य गरेका ट्रम्पका अधिकांश समर्थकले मास्क समेत लगाएका थिएनन् ।

यस्तै सोमबार ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा. एन्थोनी फाउचीको आलोचना गरे । उनले सरुवा रोग विशेषज्ञ डा. फाउचीलाई ‘डिजास्टर’ भनेका छन् ।

सम्मानित अनुसन्धानकर्ताका कुरा सुनेको भए धरै व्यक्तिको ज्यान जाने ट्रम्पले दाबी गरेका छन् । त्यसअघि सिबिएस न्यूजसँगको अन्तर्वार्तामा डा. फाउचीले राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित हुँदा आफू आश्चर्यमा नपरेको बताएका थिए ।

सुरक्षात्मक उपायमा गरेको लापरवाहीका कारण ट्रम्प संक्रमित भएको उनले बताए । ट्रम्पले भने फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ सम्म भनेका छन् । ट्रम्प र डा. फाउचीबिच तनावपूर्ण सम्बन्ध रहेको विगतमा पनि सार्वजनिक भएको थियो ।

तर गएको मार्चमा ट्रम्पले फाउचीलाई असल व्यक्ति भनेका थिए । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ८२ लाख ८ हजार भन्दा धेरै संक्रमित भएका छन् ।

ज्यान गुमाउनेको संख्या दुई लाख २० हजार भन्दा धेरै पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.