चीनसँग तत्काल संवाद नगरे युद्ध निम्तिन सक्ने अमेरिकी पूर्व विदेश मन्त्रीको चेतावनी

३ मंसिर, एजेन्सी ।
अमेरिकाका पूर्व विदेश मन्त्री हेनरी किसिन्जरले आउँदो जो बाइडेन प्रशासनले चीनसँगको संवादको क्रमलाई तत्काल सुरु गर्नु पर्ने बताएका छन्।

डोनाल्ड ट्रम्पको शासनकालमा बिग्रिएको वा अस्तव्यस्त भएको अमेरिका–चीन सम्बन्ध पुनः सही मार्गमा ल्याउनका लागि बाइडेन प्रशासनले अति चाँडो र तीव्र गतिमा काम गर्नु पर्ने उनले बताएका हुन्।

संवादको शृङ्खला तत्काल स्थापित गर्न नसके अमेरिका–चीन तनावले सैन्य द्वन्दको रुप समेत लिन सक्ने चेतावनी किसिन्जरले दिएका छन्।

ब्लुमबर्ग न्यूज इकोनोमी फोरमको उद्घाटन शत्रमा पूर्व विदेश मन्त्री किसिन्जरले भनेका छन्, ‘सहकार्य र संवादको आधारभूत प्रक्रिया नभएमा पहिलो विश्वयुद्धले निम्त्याएको विपद जस्तो अवस्था तर्फ विश्व धकेलिने छ ।’

सैन्य प्रविधिमा आएको विकासले त्यस्तो सम्भावित विपदलाई नियन्त्रण वा समाधान गर्न अति कठिन हुने उनले बताएका छन् ।

अमेरिका र चीन अहिले पर हुँदै गएको र तनावको अवस्था थप सघन बनेको बताउँदै किसिन्जरले दुवै देशको कूटनीतिक गतिविधिहरु तनावलाई बढावा दिने खालका रहेको उल्लेख गरे ।

९७ वर्षका किसिन्जरले ब्लुमबर्ग न्यूजका एडिटर इन चिफ जोन मिकलथ्वेटसँगको अन्तर्वार्ताको क्रममा बाइडेन प्रशासनका सामु चीनसँगको सम्बन्ध सुधार गरि गम्भीर विपदबाट विश्वलाई जोगाउनु पर्ने कठिन जिम्मेवारी रहेको उल्लेख गरेका हुन् ।

ट्रम्प शासनकालमा व्यापारलाई लिएर अमेरिका र चीनबिच तनाव उत्पन्न भएको छ र त्यो समाधान हुन सकेको छैन ।

Scroll to Top