विज्ञकाे चेतावनी : जाडोयाममा कोरोनाको दोस्रो लहर आउने

विज्ञकाे चेतावनी : जाडोयाममा कोरोनाको दोस्रो लहर आउने

काठमाडौँ: चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ । नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।

‘नेपाल र उत्तरी भारतमा दोस्रो लहर जाडोयाममा आउन सक्ने उच्च सम्भावना छ । युरोपमा आगामी वर्ष तेस्रो लहर आउने जोखिम औंल्याइँदै छ,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘अहिले मुलुकमा देखिएको पहिलो लहर घटेर तल पुगेको छैन तर डिसेम्बरदेखि फेब्रुअरीसम्म दोस्रो लहर आउने सम्भावना उच्च छ ।’

नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन् । डा. पाण्डेका अनुसार हाल नेपालमा संक्रमण घट्दो क्रममा देखिए पनि मृत्यु बढ्दो क्रममा छ । पीसीआर परीक्षणसमेत पहिलेको दाँजोमा कम छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन भनेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् । विज्ञका अनुसार रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिन्छ । संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्छ । आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।, याे खबर कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.