बाइडेनको पहिलो काम :“सय दिन मास्क लगाऔँ अभियान” सञ्चालनको तयारी

१८ मंसिर ७७, शुक्रबार

१९ मंसिर, वासिङ्टन ।

Advertisement

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् ।

उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै “सय दिन मास्क लगाऔँ” अभियान चलाउने बिहीबार जानकारी दिएका हुन्।

Advertisement

बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आएका छन्।राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन्।

अमेरिकामा हालै भएको निर्वाचनमा पनि मास्कको प्रयोग गर्ने वा नगर्ने विषयमा नेताहरु विभाजित भएर यस विषयले राजनीतिक रुप लिएको थियो ।

Advertisement

मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा कोरोनाभाइरसको सङ्क्रमण धेरै फैलिएको र धेरै मानवीय क्षति भएको टिप्पणी पनि हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले मास्कको प्रयोग गर्न लगाएको भए महामारी न्युन हुने विश्वास र दावी धेरैले गरेका छन् ।

अमेरिकामा कारोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म दुई लाख ७५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । राष्ट्रपतिमा निर्वाचित बाइडेनले भने निर्वाचन अगाडिदेखि नै मास्कको प्रयोग सबैले गर्नु पर्नेमा जोड दिँदै आएका थिए । उनले महामारी नियन्त्रणका लागि मास्कको प्रयोग अति प्रभावकारी र उपयोगी हुने भएकाले आफ्नो प्रशासनले त्यस अनुसारको निर्णय र कार्यक्रमहरु ल्याउने बताएका छन् ।

मास्कको प्रयोगविना महामारी अन्त्य गर्न नसकिने भएकाले मास्कको प्रयोग बढाउन र सबैलाई त्यसका लागि प्रेरित गर्न उनले अभियान नै चलाउने तयारी गरेका हुन् ।

आफूले आगामी जनवरी २० तारिखका दिन राष्ट्रपतिको जिम्मेबारी सम्हालेकै दिन मास्क प्रयोगका लागि सबैलाई आह्वान गर्ने र अभियान चलाउने सिएनएनसँगको कुराकानीका क्रममा बाइडेनले बताएका छन् ।

अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नवनिर्वाचित राष्ट्रपतिलाई ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।

आगामी जनवरी २० मा ह्वाइट हाउस प्रवेश गर्ने बाइडेनले भने, “मैले पदबहाली गरेका दिन सबै अमेरिकीहरुलाई मास्क प्रयोगका लागि अपिल गर्नेछु । यो नै मेरो पहिलो काम हुनेछ ।”

उनले मास्क प्रयोग गर्न आह्वान गर्ने अभियान सय दिनको मात्र हुने र त्यसपछि अनिवार्य नगरिने पनि स्पष्ट पारे। सय दिन सबै अमेरिकीले मास्क प्रयोग गरेमा महामारी धेरै न्युन हुने र यसले सहजता ल्याउने विश्वास पनि उनले व्यक्त गरे । रासस/एपी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top