विराटनगर,जेठ १२
तरुण दल सुनसरीका सभापति सिजन गुरुङ गुण्डागर्र्दीको आरोपमा पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको हो ।
गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।
यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् । डिएसपी श्रेष्ठले गुरुङको विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ । यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो ।त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।