८ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका विघटित प्रतिनिधि सभाका सांसदहरुले प्रतिनिधी सभा विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।
बुधबार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव समुहको सांसदहरुको भेलामा सहभागि भएका सांसदहरुले प्रतिनिधी सभाको विघटन नभएको र आफुहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् । प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र अन्य कुनैपनि राजनीतिक दलसँग छलफल नभएको र राष्ट्रपतिले पनि संसद विघटनको प्रस्तावको सम्बन्धमा राजनीतिक परामर्श नगरेकोले संसद विघटन प्रक्रियागत हिसाबले कतैपनि नमिलेको विघटित प्रतिनिधि सभाका सांसद गजुरेलले बताए । विघटित प्रतिनिधि सभाका सदस्य (सांसद) जीवनराम श्रेष्ठले संविधानमा संसद विघटनको कुनै बाटो नभएको भन्दै विघटन नभएको जिकिर गरे । सरकारको प्रतिनिधि सभा बिघटनको निर्णय गलत र प्रतिगामी भएको भन्दै श्रेष्ठले जनताले चुनेर पठाएको संसद जिवित रहेको प्रतिक्रिया दिए । उनले आफुहरुले सांसदको रुपमा काम पनि गरिरहेको पनि बताए ।
राष्ट्रिय सभा सदस्य गोपी आछामीले संवैधानिक, कानुनी हिसाबमा प्रतिनिधि सभा विघटन नभएको बताए । प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै यसलाई खारेज गर्न आफुहरुले प्रतिबद्धता जायर गरेको उनको भनाइ छ । उनले राष्ट्रिय सभा बैठक बोलाएर यस कदमको विरुद्धमा लाग्न जनतालाई अपिल गर्नुपर्ने पनि बताए । नेकपाका सांसदहरु प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भन्दै सर्वोच्च अदालत गइसकेका छन् ।