पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकोप्टरबाट पानी खन्याइयो

१३ पुस ७७, मंगलबार

१४ पुस, ताप्लेजुङ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।

स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।

Advertisement

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जङ्गलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डा समेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।

Advertisement

यसैबीच सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार हेलिकप्टरबाट पानी खसालेर आगो नियन्त्रण गरिएको यो पहिलो पटक हो । “हामीसँग तालिमप्राप्त जनशक्ति थिए, विशेष प्रविधिको बकेट राखेर पानी निकाल्ने र खसाल्ने तालिम बर्सेनि भइरहेको हुन्छ, पहिलो पटक हामीले आगो निभाउन उक्त प्रविधि र जनशक्तिलाई प्रयोगमा ल्याएका हौँ”, उनले भने । यसरी आगो निभाउन प्रविधिसहित जनशक्ति सिम्रिक एयरसँग मात्रै रहेको पनि उनले बताए ।

फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि शुरु भएको आगो पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको थियो । आगो कसले लगायो भन्ने खुलेको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top