१४ पुष, काठमाडौं । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका अनि नेपालीको मन र मुटुमा बस्न सफल राजा वीरेन्द्र शाहको मृत्यु भने रहस्यमय अनि कहालीलाग्दो ढंगले भयो । उनको हत्याको वास्तविकता जान्न अझै नेपाली जनता आतुर छन र बाहिर भनिएका हत्याका कारणमाथि विश्वास गर्न अझै नेपाली जनता तयार छैनन् । यसरी हेर्दा वीरेन्द्र र उनका परिवारको हत्याकाण्डको रहस्य अझै इतिहासको गर्भमै रहेको छ ।
२०२८ सालमा बुवा महेन्द्रको निधन पछि राजा बनेका वीरेन्द्र शाह शाहवंशीय दशौँ राजा थिए । राज्याभिषेकका बेला २०३१ फागुन १२ गते नेपाललाई शान्तिक्षेत्र घोषणा गरिएको थियो । भारतबाहेक १ सय १६ राष्ट्रले सो घोषणाको स्वागत गरेका थिए । विश्वमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा उँचो बनाउन राजा वीरेन्द्रको भूमिका महत्वपूर्ण रहेको मानिन्छ । उनमा राष्ट्रप्रेम र स्वाधीनता अनि आत्मगौरव पनि प्रशस्त रहेको मानिन्छ । राजा वीरेन्द्रकै समयमा २०३७ सालमा जनमत संग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । उदार राजाको छवि बनाएका लोकप्रिय राजा वीरेन्द्रसहित परिवारकै हत्या भयो । २०५८ जेठ १९ गते शुक्रबार पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो । जनप्रिय राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट नै २ सय ४० वर्ष लामो राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । २००२ साल पुष १४ गते राजा महेन्द्र शाह र इन्द्रराज्यलक्ष्मी देवी शाहको ज्येष्ठ पुत्रको रुपमा जन्मिएका वीरेन्द्र शाहको आज ७६ आँै जन्मदिन । प्रजातन्त्र, विकास र शान्तिका लागि योगदान दिएका वीरेन्द्रको नारायणहिटी दरवार हत्या काण्डमा मृत्यु भयो । मृत्युमात्र होइन, वंशनाशबारे स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक अनुमान र आशंका गरिएपनि घटनाको वास्तविकता इतिहासको गर्भमै छ ।