नेकपा सम्धी, छोरी र बुहारीवाला पार्टी होइन : प्रधानमन्‍त्री ओली

२४ पुस, धनगढी ।

प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्धीवाला नभएको बताएका छन्। शुक्रबार कैलालीको धनगढीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ लक्षित गर्दै ओलीले नेकपा सम्धी, छोरी, ज्वाइँ, भतिजा, भाइ बुहारी र सालोवाला पार्टी नभएको बताएका हुन् ।

Advertisement

प्रचण्ड र नेपालले पार्टी आफ्नो भएको दाबी गरेकोप्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। उनले प्रचण्ड र नेपाललाई छोरी, बुहारी र सम्धीको मात्र मतलब भएको भन्दै नेकपा उनीहरुको हुनै नसक्ने दाबी गरे।

ओलीले भने,‘उहाँहरुले ठूलाठूला कुरा गर्नु भएको छ। पार्टी उहाँहरुको अरे ! जसलाई छोरीको मतलब छ। जसलाई बुहारीको मतलब छ। जसलाई जनताको मतलब छैन। जसलाई आफन्तको मतलब छ। तिनको पार्टी हो कि तपाईंहरुको पार्टी हो यो ? यो पार्टी सम्धीवाला होइन । यो पार्टी छोरी–बुहारीवाला पार्टी होइन। यो पार्टी भाइ भतिजावाला पार्टी होइन। यो पार्टी तपाईंहरुको पार्टी हो। देश बनाउने पार्टी हो। यो जनताको पार्टी हो । त्यसकारण उहाँहरुले निरर्थक गफ नगरे हुन्छ।’

Advertisement

ओलीले नेकपा आफ्नो भन्न पहिला उनीहरुले मन र मानसिकता परिवर्तन गर्नुपर्नेमा जोड दिए। उनीहरुको मन आफन्ततिरबाट देशतिर लगाउनुपर्ने ओलीको भनाइ छ। उनले प्रचण्ड र नेपालको आँखा कमाउनेतर्फ भएको भन्दै ओलीले उनीहरुको चर्को आलोचना गरे।

‘पहिला उहाँहरुको मन परिवर्तन गर्नुहोस्। पहिला उहाँहरुको मानसिकता परिवर्तन गर्नुहोस्। उहाँहरुका आँखा आफन्त तिर होइन देशतिर लगाउनुहोस्। देशतिर फर्काउनुहोस्’, ओलीले भने, ‘उहाँहरुका आँखा कमाउनेतिर होइन देश विकास गर्नेतर्फ लगाउनुहोस्। नत्र भने ध्यान कता छ उहाँहरुको ? छोरी, ज्वाइँ, भतिजा, भाइ, बुहारी, सम्धीसम्धीनी, आफन्त, भाञ्जो, सालो, नाती थप भन्नुपर्ला जस्तो लाग्दैन।’

ओलीले आफूले कोही एउटा आफ्नो मान्छेलाई माथिल्लो अवसर दिएको भए देखाउन चुनौती दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top