९ माघ, एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् ।
भाइरस नियन्त्रणका लागि बाइडेनले १० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने जनाइएको छ । भाइरसविरुद्धको खोप द्रुतगतिमा दिइने, परीक्षण दायरा बढाइने तथा मास्कलगायत अत्यावश्यक सामग्रीको उत्पादन बढाइने आदेशमा उल्लेख छ ।
त्यसैगरी, भाइरस नियन्त्रणका लागि राष्ट्रियस्तरको रणनीति तय गरिने पनि बाइडेनको योजना छ । निवर्तमान राष्ट्रपति ट्रम्पको भाइरसविरुद्धको रणनीति तय गर्न राज्यहरूलाई अधिकार दिएका थिए ।
महामारी नियन्त्रणका लागि ठोस कदम नचालको भन्दै उनको व्यापक आलोचना भएको थियो । बिहीबार साँझसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४ लाख ६ हजार जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४५ लाख पुग्नै लागेको छ ।
राष्ट्रपति बाइडेनको कोरोना भाइरस कार्यदलका संयोजक जेफ जायन्ट्सले ट्रम्प कार्यकालमा संघीय स्तरमा भाइरसविरुद्धको कुनै रणनीति नरहेको तथा विस्तृत योजनाको अभाव भएको बताए । ‘बाइडेनले कार्यभार सम्हालेसँगै त्यो सबै परिवर्तन भएको छ,’ उनले भने ।
त्यसैगरी, खोपको प्रभावकारी वितरण तथा भरपर्दो परीक्षणका लागि बाइडेन प्रशासनले ७ बुँदे योजना सार्वजनिक गरेको छ । अप्रिल अन्त्यसम्ममा १० करोड जनालाई खोप दिइसकिने जनाइएको छ । त्यस्तै एक सय दिनभित्रमा विद्यालयहरूमा पठनपाठन सुरु गरिने योजना छ ।
देशभका संघीय परिसर तथा अन्तर–राज्य यात्रामा मास्क अनिवार्य गराइने भएको छ । तर यो आदेशपछि पनि विगतमा मास्क अनिवार्य गर्न अन्कनाएका विभिन्न राज्यका गभर्नरहरूले उनको भनाइ पछ्याउने निश्चित छैन ।
किनकि अमेरिकामा राष्ट्रपतिलाई राज्यहरूमा यस्ता आदेश लागू गराउने शक्ति प्राप्त छैन । बाइडेनले यसलाई स्विकार्दै गभर्नरलाई सम्झाउने बताएका छन् । गभर्नरहरूले नमाने नगरप्रमुख तथा स्थानीय अधिकारीहरू उनले कुरा गर्ने जनाएका बीबीसीले उल्लेख गरेको छ ।
भाइरस नियन्त्रणका उपायसँगै बाइडेनले अन्य केही मुद्दालाई आफ्नो कार्यकालको एक सय दिनको योजनामा राखेका छन् । कोरोना महामारीको व्यवस्थापन राम्ररी गर्न नसकेको भन्दै निवर्तमान राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग्याउने घोषणा गरेका थिए ।
तर बाइडेनले त्यो निर्णय उल्ट्याउने र अमेरिकालाई डब्ल्यूएचओमा फर्काउने भएका छन् । बाइडेनको टोलीले महामारीपीडित कसैलाई घरबाट निकाला गर्ने वा लिलामी गर्न राष्ट्रव्यापी रोक लगाउनेसम्बन्धी निर्णय जारी राख्ने बताएको छ ।
साथै महामारीका बेला विद्यार्थी कर्जा र त्यसको ब्याज भुक्तानी स्थगनले पनि निरन्तरता पाउनेछ । बाइडेनले गत साता कोरोना भाइरस महामारीले थलिएको अमेरिकी अर्थतन्त्रलाई सुधार्न १९ खर्ब डलरको प्याकेज घोषणा गरेका थिए ।
अमेरिकी कंग्रेसबाट अनुमोदन भएको खण्डमा उक्त प्याकेजअन्तर्गत प्रत्येक अमेरिकीलाई १ हजार ४ सया डलर नगद दिइनेछ । यो राहत यसअघि कंग्रेसले पारित गरेको ९ सय अर्ब डलरको प्याकेजमा थप हो ।
विपक्षी दल रिपब्लिकन सांसदहरूले उक्त प्याकेजको केही अंशमा विरोध जनाउने ठानिएको छ । हाल संसद्का दुवै सदनमा बाइडेनको दल डेमोक्र्याटको बहुमत छ । त्यसैगरी, ट्रम्प प्रशासनले लागू गरेको कर कटौतीसम्बन्धी व्यवस्था बाइडेन प्रशासनले उल्टाउनेछ ।
सन् २०१७ मा ट्रम्पले घोषणा गरेको कटौतीको धनी अमेरिकी तथा ठूला कम्पनीले अनुचित फाइदा लिएको बाइडेनको दाबी छ । साथै उनले अमेरिकी कम्पनीहरूले विदेशमा कमाएको नाफामा कर दोब्बर गर्नेसमेत जनाएका छन् । कर नीति भने कंग्रेसबाट अनुमोदित हुन आवश्यक छ ।
बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै पेरिस सम्झौतामा अमेरिका फर्कने घोषणा गरिसकेका छन् । उक्त सम्झौताअन्तर्गत कार्बन उत्सर्जनको कटौती तथा पृथ्वीको औसत तापक्रम औद्योगिक क्रान्तिको समयमा भन्दा बढीमा दुई डिग्री सेल्सियसले बढ्न दिने विश्वव्यापी प्रतिबद्धता छन् ।
सन् २०१५ मा भएको उक्त सम्झौताबाट ट्रम्पले अमेरिकालाई अलग पारेका थिए । अमेरिकालाई सन् २०५० सम्ममा शून्य कार्बन उत्सर्जनको अवस्थामा पुर्याउन कंग्रेससँग मिलेर उचित कानुन ल्याउने बाइडेनको भनाइ छ । त्यस्तै ट्रम्पले वातावरण तथा ऊर्जाका क्षेत्रमा लागू गरेका खुलापन बाइडेनले नियमन गर्ने बताएका छन् ।
त्यसैगरी, ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध पनि उनले उल्टाउने भएका छन् । सन् २०१७ को जनवरीमा कार्यभार सम्हालेको एक साताभित्रै ट्रम्पले ७ वटा मुस्लिम बहुल देशलाई लक्षित गर्दै यात्रा प्रतिबन्धको घोषणा गरेका थिए ।
करिब १ करोड १० लाख कागजपत्रविहीन आप्रवासीले नागरिकता पाउने बाटो खुला गर्ने कानुन ल्याउने पनि बाइडेनको योजना छ । त्यसका साथै, ट्रम्पले निकै महत्त्वका साथ अघि सारेको मेक्सिकोसँगको सीमामा पर्खाल बनाउने कार्य समेत बाइडेनले स्थगन गरिदिने छन् ।
त्यस्तै यौनिक अल्पसंख्यक (एलजीबीटी) समुदायलाई सुरक्षित पार्ने बाइडेनको प्रतिबद्धता छ । बाइडेन प्रशासनले अमेरिकाका सहयोगी राष्ट्रलाई आश्वस्त पार्ने विषय पनि प्राथमिकतामा राखेको छ ।
अमेरिकाले विश्वलाई फेरि नेतृत्व प्रदान गर्ने बाइडेनको भनाइ छ । ओभल अफिसको पहिलो दिननै बाइडेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का नेतालाई अमेरिका पूर्ववत् अवस्थामा फर्किएको जानकारी गराउने बताएका थिए ।