९ माघ, सिरहा।
ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको गोलबजारबाट दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार साँझ ६ बजेतिर २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर इलाका प्रहरी कार्यालय गोलबजारबाट सादा पोसाकमा खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा गोलबजार र मिर्चैयाका दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका २ का २२ वर्षीय राकेश कुमार साह र मिर्चैया नगरपाालिका ८ का अनिल शर्मा रहेको प्रहरीले जनाएको छ । स. ७ प ५७१२ र स. १० प ५५२२ नम्बरको मोटरसाईकलमा लुकाएर लहानतर्फ आउने क्रममा गोलबजार ३ गागनखोला पुल नजिक रोकेर चेकजाँच गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ३४ बोतल डाइलेक्स डि.सी., ४५–४५ एम्पुल डाइजिपाम तथा नुफिन, फेनार्गन ४५ थान, स्पास्मोप्रोक्सिरोन ४८ थान र नाइट्राभेट एक हजार चार सय ९७ थान ट्याब्लेट बरामद भएको छ ।
लागूऔषध बरामद भएपछि दुई जनालाई तत्काल नियन्त्रणमा लिई मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।