विराटनगर,जेठ २२
१ नम्बर प्रदेशसभा संसदले विनियोजन विधेयकको पहिलो संशोधन प्रस्ताव पारित गरेको छ ।
प्रदेशसभा संसदको सोमबार बसेको बैठकले प्रदेश सरकारको उक्त विधेयकको पहिलो संशोधन प्रस्ताव पारित गरेको हो । अध्यादेश मार्फत ल्याएको उक्त विधेयकको संशोधन प्रस्ताव आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले संसदमा पेश गरेका थिए ।
उक्त संशोधन प्रस्ताव अस्वीकृत गरियोस् भनि कुनै पनि निवेदन नपरेपछि संशोधन प्रस्ताव पारित भएको हो । अध्यादेश मार्फत ल्याइएको उक्त विधेयकमा बजेटमाथिको छलफल ६० दिनलाई घटाएर १५ दिनमा पारित हुने उल्लेख गरिएको छ ।
यसअघि संसदको शून्य समयमा बोल्दै प्रदेशसभा सांसदहरु बिमल कार्की, शौभाग्यवती राई, सर्वध्वज सावा, ज्योति सुब्बा, नवोदिता चौधरी, काजिमान कागतेलगायतले आफ्ना क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।