आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

१८ फागुन, काठमाडौँ । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ । बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो।

वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पछिल्लो दुई महिनामा बैंकहरूसँग भएको लगानीयोग्य रकम २ खर्ब रुपैयाँ घटेको बताए।

पुस मध्यतिर २ खर्ब ३० अर्बसम्म पुगेको अधिक तरलता (बैंक तथा वित्तीय संस्थाले तुरुन्त लगानी गर्न सक्ने गरी राखेको पैसा) आइतबार ७१ अर्ब रुपैयाँमा झरेको छ। तर, यसबीच राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायका लागि ८४ अर्ब रुपैयाँ पुनरकर्जा दिएको छ।

पुनरकर्जा भनेको राष्ट्र बैंकले नयाँ पैसा छापेर बजारमा पठाउनेजस्तै हो। पुसपछि बैंकहरूले नयाँ ऋण नदिएको र निक्षेप फिर्ता पनि नभएको भए अहिले वित्तीय प्रणालीमा ३ खर्ब रुपैयाँभन्दा ज्यादा अधिक तरलता हुन्थ्यो।

‘पुनरकर्जालाई जोडेर हेर्दा पुसमा भएको २ खर्ब रुपैयाँ अधिक तरलता व्यवस्थापन भइसकेको देखिन्छ’, प्रवक्ता डा. भट्टले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विनय बञ्जाराले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.