खाना र पाल उपलब्ध गराइदिन राउटे अगुवाको कर्णालीका मुख्यमन्त्रीसमक्ष माग

Share this
766shares

१९ फागुन, काठमाडौँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेका छन्।

Advertisement

आफ्ना जनताका लागि खानाको समस्या भएको भन्दै मङ्गलबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो गरेका थिए।

गाउँपालिकाले दिने प्रतिव्यक्ति मासिक तीन हजार रुपैयाँ नपाउँदा खानलाई चामल किन्न नसकेकाले भोको पेटमा सरकारसमक्ष बिन्ती बिसाउन आएको उनको भनाइ थियो।

Advertisement

‘मेरा जनता भोकले मर्न आँटे। म पनि भोकै यहाँ आएको छु। पेटभन्दा ठूलो केही छैन। सरकारले भत्ता र रासनपानी दिएर पठाउनु पर्यो,’ उनले भने।

उनले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या बनाएको भन्दै जतिसक्दो छिटो सम्बोधन गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।

Advertisement

आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन आग्रह गरेका थिए।

राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानासहित ओतका लागि व्यवस्थित पाल उपलब्ध गराउने मुख्यमन्त्रीको वचन थियो।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोसी र ठेकी उपहार दिएका थिए।

त्यस्तै कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोसी उपहार दिएका थिए।

प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर उनीहरू फर्केका छन्।

सङ्घीय सरकारले प्रतिराउटे मासिक रु तीन हजार दिँदै आएकामा कर्णाली प्रदेश सरकारले चालु आवदेखि उनीहरुलाई मासिक रु दुई हजार भत्ता थपेको छ।

मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुरले आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गरेका थिए।

पछिल्लो समयमा उनीहरुलाई अस्थायी भए पनि पालको व्यवस्थित बास बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ।

(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top