सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

सिङ्गापुर, जेठ २९

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ ।

उनीहरु दुवै जनाबीच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रुपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिएका छन्।

वार्तापछि राष्ट्रपति ट्रम्पले भने– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।

मङ्गलबार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उनले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ ।

वार्तामा प्रवेश गर्नुअघि पनि उनी पत्रकारहरूसँग आशावादी देखिएका थिए। त्यस समयमा संक्षिप्त कुरागर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भनेका थिए।

वार्ताका लागि एक स्थानीय होटलमा प्रवेश गर्नुअघि उनीहरुले होटल बाहिरै हात मिलाएका थिए।

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरुले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबीच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए ।

वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भनेका थिए– यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँसेका थिए।

उनीहरुले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झण्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झण्डा भएतिर गए र नेता किम उत्तर कोरियाको झण्डा भएको स्थानमा पुगे।

आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाए, एक अर्काको पिठ्यूँमा धाप मारे र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभिएका थिए।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटलको अर्कै कक्षमा प्रवेश गरेका थिए ।

उनीहरु वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच हुने भनिएको यस वार्ताको यस महत्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरुले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् ।

रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.