२७ असार , काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो हत्याको प्रयास गरिए इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानले आफ्नो हत्याको प्रयास गरेमा त्यसतर्फ हजारौँ क्षेप्यास्त्र प्रहार गर्ने धम्की दिएका हुन् ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाका बहालवाला राष्ट्रपति, अर्थात् आफ्नाविरुद्ध विश्वका धेरै ठाउँमा इरानी सरकारले दिएको धम्की वा हत्याको प्रयास गरेमा इरानतर्फ एक हजार क्षेप्यास्त्रहरू तयारी अवस्थामा राखिएको बताएका छन् । उनले त्यसको लगत्तै थप हजारौँ क्षेप्यास्त्रहरू प्रहार गरिने पनि उल्लेख गरेका छन् ।

अमेरिकी सेना एक वर्षको अवधिका लागि तयार र सक्षम रहेको भन्दै उनले इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न आदेश दिइसकेको दाबी गरेका हुन् । यता इजरायलले ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया सूचना यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिका र इरानबीच पुनः सैन्य तनाव चुलिँदै गएको अवस्थामा सार्वजनिक भएको यो दाबीले ट्रम्पको सुरक्षालाई लिएर नयाँ चिन्ता थपिएको हो । सिएनएनले विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाको लामो समयदेखि निगरानी गरिरहेको जनाएको छ।
तर इजरायलले हाल उपलब्ध गराएको सूचना भने नयाँ र विशिष्ट षड्यन्त्रसँग सम्बन्धित रहेको दाबी गरिएको छ । यस्तै, वाल स्ट्रिट जर्नल ले पनि अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।
इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहो¥याउँदै आएको छ । त्यसयता अमेरिकी सुरक्षा निकायहरूले ट्रम्पको सुरक्षामा विशेष सतर्कता अपनाउँदै आएका छन् ।
समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार पत्रकारहरूसँग गरेको टिप्पणीलाई उल्लेख गरेको थियो । नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा एयर फोर्स वनमा बोल्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेका थिए । ‘उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन्। म उनीहरूको प्रत्येक सूचीमा छु,’ ट्रम्पले भनेका थिए ।
यसैबीच, ट्रम्पले टर्कीबाट फर्किने क्रममा कतारले उपहारस्वरूप दिएको नयाँ विमान प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गरेका थिए। नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र अमेरिका–इरानबीच बढ्दो तनावका कारण पुरानै विमान प्रयोग गर्ने निर्णय गरिएको हो। न्युयोर्क टाइम्स का अनुसार यो निर्णय अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायका रूपमा गरिएको थियो ।
पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहेनन्। तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासको आशङ्का उठिसकेको उल्लेख गर्दै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरे । यता इरानले पनि आफ्ना दिवंगत पूर्व सर्वोच्च नेता अली खामेनीको अन्तिम संस्कारका क्रममा पनि उनको र हमलामा मारिएका अन्य शीर्ष नेताहरुको बदला अवस्य लिइने बाचा गरेको छ ।
खामेनीको शव यात्राको क्रममा पनि सडकमा अमेरिकाको, इजरायलको, ट्रम्पको र नेतन्याहुको नाश होस् भन्दै नाराहरु लागेका थिए । इरानी अधिकारी तथा शीर्ष नेताहरुले बदला लिने कुरा पटक पटक दोहोर्याउँदै आएका छन् । यसैबिच, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले देशका सशस्त्र बलहरूले शत्रुको हरेक गतिविधिलाई निरन्तर निगरानी गरिरहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले इरानका तटीय क्षेत्र, टापु, सीमा र अन्य संवेदनशील स्थानहरूमा तैनाथ सशस्त्र बलका वीर रक्षकहरूले सतर्क आँखाका साथ शत्रुको चालचलनलाई निगरानी गरिरहेको स्पष्ट पारेका छन् । ती सेनाले आफ्ना कार्यहरू मार्फत इरानको सुरक्षा र शान्तिलाई सुरक्षित राख्ने दाबी पनि उनले गरेका छन् ।
उता ट्रम्पले पनि अमेरिका–इरानबीचको युद्धविराम समाप्त भइसकेको बताएका छन् । तर, इरानले कुराकानी जारी राख्न चाहे वार्ता जारी रहने उनको भनाइ छ । “अमेरिका–इरानबीच लागु युद्धविराम अब समाप्त भइसकेको छ । तर, इरानले अमेरिकासँग कुराकानी जारी राख्न चाहेको खण्डमा हामी यसका लागि तयार छौँ,” ट्रम्पले भने ।
ट्रम्पले आफ्नो हस्ताक्षरसहित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेको सन्देशमा भनेका छन्, “इस्लामिक रिपब्लिक अफ ईरानले हामीसँग कुराकानी जारी राख्न अनुरोध गरेको छ । हामी यसका लागि सहमत छौँ, तर हामीले उनीहरूलाई स्पष्ट शब्दमा बताइसकेका छौं कि युद्धविराम अब समाप्त भयो ।”
यता वाशिङ्गटन–तेहरानबीचको युद्धविराम सहमति भङ्ग भएपछि बढ्दो क्षेत्रीय तनावका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानलाई कडा चेतावनी दिँदै ‘युद्ध अझै नसकिएको’ बताएका छन् । उनले तेल अभिभ सबै सम्भावित परिस्थितिका लागि तयारी गरिरहेको बताए ।
बिहीबार हात्जेरिम एयर बेसमा इजरायली वायुसेनाको तालिम समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहुले राष्ट्रको वायु क्षमताको प्रभुत्व कायम राख्नु नै देशको राष्ट्रिय सुरक्षा प्रणालीको मुख्य आधार रहेकोमा जोड दिए । उनले तेहरानले उल्लेखनीय धक्का खाएको तरपनि नयाँ रणनीतिक चुनौतीहरू देखा पर्न थालेको सङ्केत गरे ।
इजरायली सञ्चारमाध्यमले प्रधानमन्त्री नेतन्याहुलाई उद्धृत गर्दै भने, “इरानी शासनलाई ठूलो झट्का लागेको छ र हाम्रो नीति स्पष्ट छ, चाहे सम्झौता होस् वा नहोस्, इरानले आणविक हतियार प्राप्त गर्न पाउने छैन। यदि हामीले कदम नचालेको भए इरानले आणविक हतियार प्राप्त गरिसकेको हुन्थ्यो। युद्ध अझै सकिएको छैन र हाम्रो सामु नयाँ चुनौतीहरू देखा पर्दै छन्।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम ‘समाप्त’ भएको घोषणा गरी दुई देशबीचको सैन्य हमलापछि तेहरानसँगको कूटनीतिक प्रयासलाई ‘समयको बर्बादी’ भनेको एक दिनपछि इजरायली नेताको यो भनाइ आएको हो । यसैबीच यता पाकिस्तानका प्रधानमन्त्री शेहबाज सरिफले शुक्रबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुराकानी गरेका छन् ।
सरिफले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार पेजेस्कियानसँग छलफलका क्रममा शान्ति कायम राख्न कूटनीति आवश्यक रहेमामा जोड दिइएको बताएका छन् । प्रधानमन्त्री सरिफले शुक्रबार अबेर राति लेखेका छन्, ‘आज मैले मेरा दाइ इरानका राष्ट्रपति डा. मसुद पेजेस्कियानसँग कुरा गरेँ। हामीले विकसित परिस्थितिबारे छलफल ग¥यौँ र हालैका महिनाहरूमा प्राप्त शान्ति जोगाउन संयम, संवाद र कूटनीति आवश्यक छ भन्ने कुरामा जोड दियौँ।’
उनले अगाडि लेखेका छन्, ‘मैले पाकिस्तान दिगो शान्तिका लागि इमान्दार र सत्यवादी मध्यस्थकर्ताको भूमिका खेल्न तयार छ भन्ने कुरा दोहो¥याएँ। हामीले मेरो हालैको इस्लामाबाद भ्रमणका क्रममा स्थापित द्विपक्षीय सहयोग एजेन्डालाई अगाडि बढाउने निर्णय पनि ग¥यौँ।’
पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिच शान्ति स्थापना गर्न र युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न मध्यस्थता गरिरहेको छ । यसैबिच समाचार एजेन्सी रोयटर्सले आफ्नो स्रोतलाई उद्धृत गर्दै कतारका वार्ताकारहरू इरानमा उपस्थित रहेको र इरानका अधिकारीहरूसँग भेट गरिरहेको उल्लेख गरेको छ ।
इरान र अमेरिकाबिच शान्ति सम्झौताका लागि पाकिस्तान मुख्य मध्यस्थकर्ता भए पनि कतार पनि यस विषयमा सक्रिय रूपमा संलग्न छ ।




