२७ असार , काठमाण्डौ ।
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागका अनुसार देशभर अधिकांश स्थानमा बादले ढाकेको ।

हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यस्तै देशका तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला देशभर अधिकांश आकाश बादलले ढाकेको छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । आज काठमाडौँ उपत्यकमा पनि थप वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार आज पनि दिउँसो तथा राति काठमाडौँ उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ ।
‘दिउँसोभन्दा राति वर्षाको सम्भावना बढी छ’, उनले भनिन्, ‘तत्काल पनि काठमाडौँ उपत्यकामा फाटफुट वर्षा हुन सक्छ। तर विशेषगरी दिउँसो २÷३ बजेपछाडि वर्षाको सम्भावना बढी छ।’ उनले थपिन् उपत्यकाका धेरैजसो स्थानमा मध्यम र एक–दुई ठाउँमा भारी पनि वर्षा हुने सम्भावना छ ।
उनका अनुसार विगत १२ घण्टामा काठमाडौँ उपत्यकाभरिजसो वर्षा भएको छ। केही ठाउँमा भारी वर्षा पनि भएको छ । ‘विगत १२ घण्टाको तथ्यांक हेर्दा सबैभन्दा बढी वर्षा सुन्दरीजलमा ९०.४ मिलिमिटर, नागार्जुनमा ६०.८, बुढानीलकण्ठमा ५६.८, नैकापमा ५१ र साँखुमा ४९ मिलिमिटर वर्षा भएको छ। अन्य स्थानमा मध्यम वर्षा भएको छ’, उनले भनिन् ।
५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम र यसभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ । गएराति अरु ठाउँको तुलनामा बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी परेका ठाउँका खोला, नदीहरुमा बाढी आएको छ ।
काठमाण्डौको बागमती नदीमा बाढी आउँदा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेको छ । त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरू बिचल्लीमा परेका छन् । उनीहरुका सरसामान पानीले डुबाएको छ । अहिले पानी कम भएपछि उद्धारको काम भएको छ ।
सरकारले यस्तै बाढीबाट जोगाउन भन्दै नदी किनारका सुकुम्बासी बस्ती भत्काए पनि उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन नसक्दा झनै समस्या भएको छ । यसबीच आज पनि देशका धेरै ठाउँमा भेलबाढी आउने गरी पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
वर्षा हुने क्रम बढेसँगै खोला÷नदीमा बाढी आउने क्रम पनि बढेको छ । बाढी पूर्वानुमान महाशाखाले आज देशका ३३ जिल्ला र त्यसआसपासका नदी तथा खोलामा बाढी आउने र जोखिम निम्त्याउने सम्भावना छ । बाढी महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, आज नुवाकोट, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुरमा ससाना नदीहरुमा बाढीको जोखिम छ ।
यसैगरी चितवन, नवलपरासी, कास्की, रसुवा, धादिङ, बारा, पर्सा, रौतहट, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, प्युठान, जाजरकोट, जुम्ला, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम साथै काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे र आसपासका जिल्ला भई वहने कही ससाना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ ।




