चीनबाट फर्केका एमबीबीएस विद्यार्थीहरु आन्दोलित

१० चैत, काठमाडौँ । कोभिड–१९का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् ।

Advertisement

विद्यार्थीहरुले ६ महिना अगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

सन् २०१४ को ब्याचमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको गतवर्ष इन्टर्नसिप रहेको र तीन महिना देखि दश महिना सम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीहरुले बताएका छन् ।

Advertisement

पढाई पूरा गरेर काम शुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको पनि विद्यार्थीहरुले बताएका छन् ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४ को ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५ का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए ।

तर कानून अनुसार सहजिकरण गर्नका लागि छलफल भइरहेको पनि बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकारात्मक रहेको पनि डा. पौडेलले बताए ।

कतिपय विद्यार्थीहरुले काउन्सिलले लिने परीक्षा समेत पास गरिसकेका छन तर इन्टर्नसिप पूरा गर्न नपाउँदा लाइसेन्स पाउन नसकेको विद्यार्थीहरुले बताएका छन् ।

बाध्यात्मक परिस्थितिमा नेपालकै विश्वविद्यालय अन्तर्गतका मेडिकलहरुमा इन्टर्नसिप पूरा गर्न पाउने इन्टर्नसिप गाइडलाइनमा व्यवस्था भए अनुसार आफूहरुको समस्या समाधान हुनुपर्ने माग विद्यार्थीहरुको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top